थपिने विओपी संख्या सार्वजनिक तर विवरण छैन

0
2096

दार्चुला, पुष ७ गते ।
पुष ३ गते विहिवार नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद वास्कोटाले पत्रकार सम्मेलन गरी सिमा सुरक्षाका लागि १ सय १४ विओपी थप्ने सरकारी निर्णय सार्वजनिक गरे । त्यहि दिन जिल्लास्तरमा र काठमाण्डौबाट सामाजिक सञ्जालमा दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरुमा सशस्त्र प्रहरीको विओपी स्थापना भएको निर्णयको छायाप्रति नै सार्वजनिक भयो । तर सरकारले गरेको निर्णयअनुसार कुन कुन ठाँउमा १ सय १४ विओपी स्थापना गरिने भन्ने विवरण तयार नै छैन ।
सशस्त्र प्रहरी वलका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले थपिने भनिएका १ सय १४ वटा विओपीहरुको विवरण तयार नभएको बताउनुभयो । ‘आवश्यकताअनुसार विओपी थपिन्छ, यसका लागि बजेट र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो । ४ वटा विओपीहरु चीनसंगको सिमाना जोडिएका उत्तरी क्षेत्रका जिल्लामा राखिने निश्चित भएको उहाँले बताउनुभयो ।
भारतसंग सिमाना जोडिएका क्षेत्रमा भने ‘आवश्यकता र स्रोतसाधनको व्यवस्थापनका आधारमा विओपी स्थापना हुँदैजाने’ प्रवक्ता श्रेष्ठले बताउनुभयो । ‘सिमाक्षेत्रमा जम्मा २ सय ६५ स्थानमा विओपी स्थापना गर्नुपर्ने हाम्रो अध्ययनले देखाएको थियो, हालसम्म १ सय ७ स्थानमा विओपी छन् र थप १ सय १४ वटा विओपी थप्न सैद्धान्तिक निर्णय भएको हो’ मोबाइल सम्पर्कमा सशस्त्र प्रहरीका प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
‘सिमाक्षेत्रमा आवश्यकता अनुसार तत्कालै पनि विओपी राखिन्छ, यसका लागि जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर परिचालन गर्न सक्छ’ डिआइजी श्रेष्ठले भन्नुभयो । घोषणा गरिएका सबै विओपी स्थापना गर्नका लागि बजेट र जनशक्ति थप्नुपर्ने उहाँको भनाई छ । यसका लागि गृह मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको पनि उहाँले बताउनुभयो ।
दार्चुलाको छाङरुलगायत उत्तरी क्षेत्रका विओपी स्थापनाका लागि भने उच्च प्राथमिकता दिइएको सशस्त्र प्रहरी वलको भनाई छ । सिमा अतिक्रमणको विषयले पनि तत्काल दार्चुलाको पश्चिमोत्तर क्षेत्रमा विओपी राख्ने निर्णयमा नेपाल सरकार पुगेको हो । बजेटको व्यवस्था, पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनसंगै विओपी स्थापना पनि गरिदैजाने सशस्त्र प्रहरीको भनाई छ ।