त्रिभुवन विश्वविद्यालयको लापरवाही: विएड तेस्रो बर्षको परिक्षामा कक्षा १२ को प्रश्नपत्र

0
771

दार्चुला, फागुन १६ गते ।
नेपालको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा रहेको त्रिभुवन विश्वविद्यालयले परिक्षाको प्रश्नपत्रमा लापरवाही गरेको पाइएको छ । विएड तृतीय बर्षको एनलाइटीक जोमेट्री विषयको परिक्षाका लागि विएड प्रथम बर्षको क्यालकुलस विषयको प्रश्नहरु समेटिएको प्रश्नपत्र छापिएको पाइएको छ ।

दार्चुला बहुमुखी क्याम्पसमा आईतबार एनलाइटीक जोमेट्रीको परिक्षा दिन परिक्षाहलमा पुगेका विद्यार्थीहरुको हातमा कक्षा १२ को गणित विषयको तथा प्रथम बर्षको क्यालकुलस विषयको प्रश्नहरु समेटिएको प्रश्नपत्र दिइएपछि विद्यार्थीहरु आश्चर्यमा परेका थिए ।
प्रश्नपत्रमा विषयको नाम एनलाइटीक जोमेट्री राखिएको भएपनि प्रश्नहरु विएड तेस्रो बर्षको पाठ्यक्रम अनुसार राखिएको नभइ क्यालकुलस विषयको राखिएको परिक्षा दिन पुगेका दार्चुला बहुमुखी क्याम्पस दार्चुलाका विएड तेस्रो बर्षका विद्यार्थी राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।
प्रश्नपत्रहरु पाठ्यक्रम अनुसार नभएपछि आफुहरुले प्रश्न उठाउदाँ केहि समयपछि परिक्षा रद्द गरिएको सूचना प्राप्त भएको अर्का विद्यार्थी नविन जोशीले जानकारी दिनुभयो । परिक्षा सञ्चालन भएको करिब २५ मिनेटपछि परिक्षा स्थगित भएको अर्का विद्यार्थी कविता चैसिरले जानकारी दिनुभयो ।
प्रश्नपत्रहरु माथिबाटै सिल आउने भएकाले परिक्षा सुरु नभए सम्म प्रश्नपत्रहरुको बारेमा जानकारी नहुने क्याम्पस प्रशासनको भनाई छ । परिक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्रमा त्रुटी भएका कारण परिक्षा स्थगीत गरेको जानकारी प्राप्त भएको क्याम्पस प्रमुख कृष्ण सिह साउदले जानकारी दिनुभयो । एनलाइटीक जोमेट्री विषयको आईतबार हुने परिक्षा देशैभर रद्द भएपछि फागुन २३ गते पुनः परिक्षा मिति तोकिएको उहाँले जानकारी दिनुभयो ।