तुईन प्रकरणः छानविन समितिलाई सात दिनको म्याद थप

665

दार्चुला, साउन २६ गते ।
दार्चुलाको ब्याँस गाउँपालिका २ मालघाटमा भारतीय एसएसबीले तुईन फुकाल्दा नेपाली युवा महाकाली नदीमा खसेको घटनाबारे छानविन गर्न गठित समितिलाई प्रतिबेदन बुझाउन सात दिनको म्याद थप गरिएको छ ।

गृह मन्त्रालयले गठन गरेको छानबीन समितिलाई घटनाको प्रतिबेदन बुझाउन म्याद थप गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिनुभयो । गृह मन्त्रालयले माल घटनाको अनुसन्धानका लागि सहसचिव जर्नादन गौतमको नेतृत्वमा साउन १७ गते पाँच सदस्यीय छानबीन समिति गठन गरेको थियो । छानविन समितिलाई दश दिन भित्र प्रतिबेदन बुझाउन भनिएको थियो ।
साउन १९ गते दार्चुला पुगेको छानविन टोलीले घटनास्थलको अवलोकन, प्रत्यक्षदर्शीको बयान, पिडित परिवार संग भेटघाट तथा घटनाबारे जानकारी राख्ने जनप्रतिनिधी, मानवअधिकारकर्मी लगायत पत्रकारहरु संग छलफल गरेको छ । एक हप्ता सम्म दार्चुला बसेको टोली मंगलबार फिर्ता भएको छ ।
‘समितिले १० दिनको म्याद मागेको थियो, हामीले सात दिन म्याद थप गरेका छौँ’ गृह मन्त्रालयका प्रवक्ता पोखरेलले भन्नु भयो । सुरुमा १० दिन म्याद दिइएकोमा अझै समितिले १० दिन म्याद थप गर्न अनुरोध गरेपनि ७ दिन म्याद थप गरिएको उहाँको भनाई छ । साउन १५ गते भारतको बाटो भएर खलंगा आउने क्रममा तुइन तरिरहेकै बेला भारतीय एसएसबीले तुइन फुकालिदिदाँ ब्याँसका स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !