तुईन घटना छानविन गर्न घटनास्थल गएको टोलीमा दुबै देशका को–को छन् ?

0
875

दार्चुला, साउन २१ गते ।
ब्यास गाउँपालिका २ मालघाट घटनाको छानविनका लागि दार्चुला पुगेको गृह मन्त्रालयको टोली विहिबार विहान भारतको बाटो भएर घटना स्थल तर्फ गएको छ ।

टोलीमा छानविन समितीका संयोजक सह सचिव जनार्दन गौतम, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी छन् । छानविन टोली बाहेक सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बमं तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट टोली संगै घटनास्थल तर्फ गएको दार्चुलाका प्रहरी प्रबत्ता नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

त्यसैगरि नेपाली छानविन टोली संग भारतको डिडिहाटका एसएसबी कमाण्डेन्ट महेन्द्र प्रताप र अन्य दुई जना एसएसबी अधिकारी घटना स्थल गस्कु तर्फ गएको स्रोतले जनाएको छ । भारतको धार्चुलाबाट गाडिमा गएको टोली करिब २० किलोमिटर अघि तिउतोला भन्ने ठाउँमा सडक अवरुद्ध हुदाँ केही हिडेर गस्कुबाट गाडि झिकाएर गस्कु सम्म गएको स्रोतले जनाएको छ । भारतको बाटो भएर घटनास्थलतर्फ गएको नेपाली छानविन समितिले मिडियाकर्मीहरुलाई भने संगै लगेको छैन । छानविनको प्रोटोकल अनुसार मिडियाकर्मी संगै लग्न नसकिने छानविन समितिका संयोजक जर्नादन गौतमले बुधबार दार्चुलाका सञ्चारकर्मीहरु संगको भेटघाटमा भनेका थिए । नेपाल तर्फबाट सडक नहुदाँ टोली भारतको बाटो भएर घटनास्थल तर्फ गएको हो । साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा तुईन तर्ने क्रममा भारतीय एसएसबीले तुईन फुकालीदिदाँ स्थानिय युवक जयसिह धामी महाकाली नदीमा बेपत्ता छन् ।