तुईन काटेको घटना लुकाउन आफ्नै नागरिक विरुद्ध एसएसबीको उजुरी

932
भारतीय पत्रिका हिन्दुस्तान दैनिकमा छापिएको समाचार

दार्चुला, साउन २१ गते । 

भारतीय एसएसबीले तुइन फुस्काएपछि महाकाली नदीमा जयसिंह धामी बेपत्ता प्रकरणको वास्तविकता लुकाउन भारतको सशस्त्र सीमा बल एसएसबीले हरसम्भव प्रयास गरिरहेको छ ।

आफ्नै नागरिकलाई महाकालीमा अवैध तुइन सञ्चालन गरेको आरोपसहित एसएसबीले उत्तराखण्ड प्रहरीमा उजुरी दिएको छ ।
साउन १५ गतेको महाकाली नदी तुइन प्रकरण घटनास्थल पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत पाङला क्षेत्रमा पर्दछ । पाङला क्षेत्रको गस्कु भन्ने बस्ती नजिकबाट नेपालको व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लाको मालघाट तुइनले जोडिँदै आएको छ ।

घटनालगत्तै सीमाक्षेत्रमा बसोवास गर्ने भारतीय नागरिकले समेत एसएसबीका कारण जयसिंह धामी बेपत्ता भएको बताएपछि घटनाको वास्तविकता दबाउन एसएसबीले भारतीय नागरिकलाई दबावमा राख्न उजुरी दिएको हो । भारतीय पत्रिका हिन्दुस्तान दैनिकले ‘तुइन घटनाबारे भ्रम फैलाउने पाङला क्षेत्रका तीनजना भारतीय नागरिकविरुध्द एसएसबीले उत्तराखण्ड प्रहरीमा उजुरी दिएको’ समाचार प्रकाशित गरेको छ ।

“घटना भएकै दिन घटनास्थलमा संलग्न दुबै सुरक्षाकर्मीलाई एसएसबीकै गाडीमा राखेर धारचुलाभन्दा बाहिर पठाएको स्थानीय एक जना गाडी चालकले बताएका छन् ।”

सोमबारको अंकमा प्रकाशित पत्रिकामा एसएसबीको ११औं बाहिनीले पिथौरागढ जिल्लाका प्रहरी प्रमुख एसपीलाई तीन भारतीय गाडी चालकविरुध्द कारबाही गर्न पत्राचार गरेको समाचार लेखिएको छ । एसएसबीको ११औं बाहिनी मुख्यालय पिथौरागढको धारचुला तहसिलभन्दा ६० किलोमिटरको दूरी डीडीहाट तहसिलमा अवस्थित छ । पत्रमा ‘घटनाबारे स्थानीयले सामाजिक सञ्जालबाट दुष्प्रचार गरेको’ आरोप लगाइएको छ ।

नेपाली नागरिकलाई तुइनबाट अवैध आवतजावत गराउने गरेको आरोप पनि एसएसबीले स्थानीय गाडी चालकमाथि लगाएको समाचारमा लेखिएको छ । आरोपित तीनै जनालाई सोधपुछ र कारबाहीको माग गरिएको छ । भारतको पाङला क्षेत्रको गस्कु जयकोट गाउँका स्थानीय तीन युवाविरुध्द एसएसबीले उजुरी दिएको बुझिएको छ । एसएसबीले उजुरी दिएका स्थानीयको नाम भने खुलाइएको छैन । साउन १५ गतेको घटना अघिसम्म तीनै जनाले पैसा असुलेर अवैध रुपमा तुइनमार्फत नेपाली नागरिकलाई तार्ने गरेको आरोप एसएसबीले लगाएको छ । हिन्दुस्तान दैनिकमा सोमबार प्रकाशित समाचारमा “एसएसबीले तार फुुस्काएपछि उनीहरुको अवैध कारोबार ठप्प भएको’ उल्लेख छ ।

जयसिंह धामी महाकालीमा खस्दा आफू संलग्न नभएको बताउने एसएसबीले आफ्ना सुरक्षाकर्मीले साउन १५ गते तुइनको लठ्ठा काटेको विषय हिन्दुस्तान दैनिकको समाचारमा भने स्वीकारेको छ । साउन १५ गते घटनास्थलमा एसएसबीले तुइनको लठ्ठा काटेपछि भारतीय नागरिकको अवैध धन्दा बन्द भएको एसएसबीले हिन्दुस्तान दैनिक पत्रिकालाई जानकारी दिएको उल्लेख छ ।
तुइनको लठ्ठा एसएसबीले फुस्काइदिएपछि जयसिंह धामी महाकालीमा बेपत्ता भएकोमा सीमाक्षेत्रका भारतीय नागरिक पनि एसएसबीप्रति आक्रोशित भएका हुन् । सीमाक्षेत्रका नेपालीहरुसँग मित्रताको सम्बन्ध भएकाले जयसिंह धामीको बेपत्ता प्रकरणमा एसएसबीको संलग्नताबारे भारतीय नागरिकले नै सामाजिक सञ्जालमा आक्रोश र दुःख पोखिरहेका छन् ।

सीमाक्षेत्रका भारतीय नागरिकलाई सामाजिक सञ्जालबाट घटनाबारे दुष्प्रचार गरेको आरोप एसएसबीले लगाएको समाचारमा उल्लेख छ । केही स्थानीयले आफूलाई बदनामी गरेको एसएसबीको आरोप छ । ‘यसबाट एसएसबीको छवि खराब भइरहेको र दुई देशको सम्बन्धमा पनि प्रतिकूल असर परिरहेको’ बारे पत्रिकाले समाचारमा उल्लेख गरेको छ । घटनाबारे कुनै फोटो वा भिडियोलगायतका प्रमाण भएमा एसएसबीलाई उपलब्ध गराउन पनि भारतीय क्षेत्रका स्थानीयसँग आग्रह गरिएको छ ।

यसैबीच,भारत धारचुला तहसिलका एसडिएम अनिलकुमार शुक्लाले तुइनबाट आवतजावत गर्नु अवैध रहेको बताएका छन् । अवैध माध्यमको प्रयोग कसैले पनि गर्न नहुने भन्दै उनले तुइन घटनामा एसएसबीमाथि लागेको आरोप आधारहीन भएको बताएका छन् । ‘तथ्यबिनाको आरोप लगाउँदा दुई देशको सम्बन्धलाई प्रभावित गर्ने’ एसडिएम शुक्लाको भनाई उद्धृत गर्दै हिन्दुस्तान दैनिकले समाचारमा लेखेको छ ।

भारतीय प्रशासन र एसएसबीले महाकालीको तुइन घटनामा एसएसबीको संलग्नता लुकाउने प्रयास गरिरहेको बताइएको छ । घटनास्थलमा संलग्न दुईजना सुरक्षाकर्मीलाई गाडीमा राखेर धारचुला तहसिलभन्दा बाहिर पठाइएको खबर बाहिरिएको छ । घटना भएकै दिन घटनास्थलमा संलग्न दुबै सुरक्षाकर्मीलाई एसएसबीकै गाडीमा राखेर धारचुलाभन्दा बाहिर पठाएको स्थानीय एक जना गाडी चालकले बताएका छन् ।

सशस्त्र प्रहरी बलसँगको सम्पर्कमा पनि एसएसबीले घटनामा आफ्ना सुरक्षाकर्मीको संलग्नता नभएको बताएको छ । आफ्ना सुरक्षाकर्मी घटनास्थलमै नपुगेको एसएसबीले सशस्त्र प्रहरीलाई जानकारी गराएको बताइन्छ । भारतको पिथौरागढ जिल्ला प्रशासनले पनि एसएसबीको घटनामा संलग्नता नभएको लिखित जानकारी गराइसकेको छ ।

नेपाली पक्षलाई घटनामा एसएसबीको संलग्नताको विषय उठाइएमा ‘दुई देशको सम्बन्धमा नकारात्मक असर पर्ने’ सन्देश भारतीय पक्षले दिन खोजेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत शनिबार विज्ञप्ति जारी गर्दै ‘तथ्यहीन र भ्रामक समाचार सार्वजनिक नगर्न’ आग्रह गरेको छ । साथै ‘दुई देशको सम्बन्धमा खलल पुग्नसक्ने भन्दै चिन्ता’ समेत व्यक्त गरेको छ ।

‘भारतीय पक्षको मनोविज्ञान बुझेर र गृह मन्त्रालयबाट संकेत पाएर जिल्ला प्रशासनले घटनालाई ढाकछोप गर्न र मिडियामा आएको खबरलाई भ्रामक देखाउन विज्ञप्ति निकालेको देखिन्छ,’ दार्चुलामा क्रियाशील पत्रकार शंकरसिंह धामीले बताएका छन् । जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति,गृह मन्त्रालयको विज्ञप्ति र गृहमन्त्रीको अभिव्यक्तिबाट घटनामा एसएसबीको संलग्नता देखाए दुई देशको सम्बन्धमै असर पर्नसक्ने कायरता र चिन्तासमेत देखिएको पत्रकार धामीको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !