तीन महिनादेखि कृषिको सम्पर्क कार्यालय बन्द

0
2106

दार्चुला, माघ १५ गते ।
दार्चुलामा तीन महिनाअघि खोलिएको कृषि ज्ञान केन्द्रको सम्पर्क कार्यालय बन्द रहेको छ । दशैलगत्तै खलंगाको गल्फैस्थित साविकको जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क कार्यालय स्थापना गरिएको थियो ।
सम्पर्क कार्यालय स्थापना एवं सञ्चालनका लागि खटिएका कर्मचारी दार्चुलाबाट एक हप्तामै फर्किएका छन् । कृषि ज्ञान केन्द्र बैतडीले दार्चुलाको कार्यक्षेत्र हेर्ने गरी खलंगामा सम्पर्क कार्यालय खोलेको थियो ।
कृषि प्रसार समूहका अधिकृत गोपालदत्त भट्ट र कार्यालय सहयोगी दिवाकर पाण्डेलाई दार्चुलाको सम्पर्क कार्यालयमा खटाइएकोमा दुबैजना अहिले दार्चुलामा छैनन् ।
कृषि ज्ञान केन्द्र बैतडीमा कामको चाप बढेकोले आफु केही महिनादेखि बैतडीमै रहेको कृषि प्रसार अधिकृत गोपालदत्त भट्टले बताउनुभयो । दार्चुलामा सम्पर्क कार्यालय खोलेको एक हप्तापछि आफु बैतडी फर्किएको उहाँको भनाई छ । कार्यालय सहयोगी पाण्डे पनि केही हप्तापछि दार्चुलाबाट फर्किएका छन् ।
दार्चुलामा सम्पर्क कार्यालय सञ्चालन गर्न सेवा दिन खोजिए पनि कर्मचारी अभावले समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णवहादुर चन्द बताउनुहुन्छ । ‘प्राविधिक सेवाका ३ जना मात्रै कर्मचारी छौ, बैतडीस्थित कार्यालयकै सेवा प्रवाह सहज हुन सकेको छैन’ उहाँले भन्नुभयो ।
कृषि ज्ञान केन्द्र बैतडीमा १६ जना कर्मचारीको दरबन्दी छ । प्रशासन, लेखा, कार्यालय सहयोगी र प्राविधिक गरी ८ जना मात्रै कर्मचारी हाल कार्यरत रहेको चन्दले बताउनुभयो । ‘रिक्त दरबन्दीमा कर्मचारी माग गरेका छौ, जनशक्ति थपिए दार्चुलाको सम्पर्क कार्यालय सञ्चालनमा ल्याउछौ’ उहाँले भन्नुभयो ।
खलंगाको गल्फैस्थित साविकको जिल्ला कृषि विकास कार्यालय परिसरमा हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ जोनको कार्यालय छ । नेपाल सरकारअन्तर्गतको स्याउ जोन कार्यालयले स्याउ र ओखर उत्पादनको क्षेत्रमात्रै सेवा दिइरहेको केन्द्र प्रमुख विष्णुप्रसाद ओझाले बताउनुभयो ।
धेरै किसान प्राविधिक र अन्य सेवाका लागि गल्फैस्थित कार्यालयमा आउने गरेको उहाँको भनाई छ । ‘हामीसंग स्रोतसाधन, प्राविधिक र अधिकार केही छैन, कार्यालयमा पुग्ने सबै कृषक रित्तो हात फर्किन्छन्’ स्याउ जोन कार्यालयका प्रमुख ओझाले भन्नुभयो । स्याउ र ओखरखेतीका लागि भने आफ्नो कार्यालयले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्र बैतडीको दार्चुलामा सम्पर्क कार्यालय खोलिएपछि सम्पर्क कार्यालयका प्रमुख गोपालदत्त भट्ट कार्तिक ५ गतेको कार्यालय प्रमुखमा पनि सहभागी भएका थिए । तत्कालिन प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्टले कार्यालय प्रमुखको बैठकमा र कर्मचारी मिलन केन्द्रले आफ्नो संस्थामा भट्टको स्वागत गरेका थिए । तर एक हप्तामै कार्यालय कामका लागि भन्दै कृषि प्रसार अधिकृत भट्ट दार्चुलाबाट हिडेका हुन् ।
कृषि ज्ञान केन्द्र बैतडीले पठाएमा आफु दार्चुलामा आएर कार्यालय सञ्चालन गर्न तयार रहेको भट्टको भनाई छ । केन्द्र प्रमुख कर्णवहादुर चन्दले भने कर्मचारी थपिए मात्रै दार्चुलामा जनशक्ति पठाउन सकिने बताउनुभयो ।