तीन घण्टा खोलिएको सीमा पुलमा झण्डै ६ सय जनाले आवत जावत गरे

0
936
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, कार्तिक २० गते ।
तीन घण्टा खोलीएको नेपाल–भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित सीमा पुलमा झण्डै ६ सय जनाले आवत जावत गरेका छन् । भारतको धार्चुलाका ब्यापारीहरुको ब्यापार शुन्यमा झरेका बेला सीमा पुल खुल्दा भारतीय ब्यापारीहरु समेत खुसी भएका छन् । भारतमा उपचारका लागि जानुपर्ने तथा सीमा नाका बन्दका कारण वारी–पारी अड्कीएका ब्यक्तिहरुले जिल्ला प्रशासन कार्यालय दार्चुलामा सीमा पुल खोल्न माग गर्दै निबेदन दिएकाले विहिबार तीन घण्टाका लागि नेपाल–भारत जोड्ने सीमा पुल खोलीको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी एबं साहयक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतको धार्चुला तहशिलको सहमतीमा विहिबार दिउसो दुई बजे देखि पाँच बजे सम्म खोलीएको उहाँले जानकारी दिनुभयो । सीमा पुलबाट ६८ जना भारत गएको र १ सय ५ जना नेपाल भित्रीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ४ सय १९ जना नेपाल बाट भारतीय बजार धार्चुला गएर फिर्ता भएका छन् । लामो समय पछि आज खोलीएको पुलबाट भारतबाट लाखौको सामान भित्रीएको पत्रकार भोज राज जोशीको भनाई छ ।  गत चैत्र ११ गते देखि कोरोना प्रभावले बन्द भएको सीमा नाका पटक–पटक केहि समयका लागि खोलीएको भएपनि भारतबाट सामान ल्याउने प्रयोजनमा केहि रोक लगाइएको थियो भने नेपालबाट सामान ल्याउनकै लागि मात्रै भारतको धार्चुला जान दिइएको थिएन । तर आज भारतबाट सामान ल्याउन मात्रै जानेहरुलाई पनि विना रोकतोक जान दिइएको छ । विना रोकतोक सामान भित्रीन दिएको भएपनि राजस्व गुमेको छ । भारतबाट सामान भित्रीएको तर ब्यक्तिगत प्रयोजनका लागि मात्रै भित्रीएको र ब्यापारीक प्रयोजनका लागि नभित्रीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दको दाबी छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले आवत जावतका लागि मात्रै सीमानाका खोलीएको र सामान ल्याउन नदिन भनिएको बताँउछन् । प्रहरी निरिक्षक चन्द भने प्रशासनले ब्यक्तिगत प्रयोजनका लागि भारतबाट सामान ल्याउन दिन भनेकाले उक्त सामान ल्याउनमा रोक नलगाएको बताउँछन् ।