तीन गाँउपालिका केन्द्र र आगरमा प्रहरी चौकीको माग

0
2344

दार्चुलाका तीनवटा गाँउपालिका केन्द्र तथा शैल्यशिखर नगरपालिकाको वडा नम्बर ५ आगरमा नयाँ प्रहरी चौकी स्थापनाको माग गरिएको छ । स्थानीय तहको नयाँ संरचनामा गाँउपालिका केन्द्रको सुरक्षा व्यवस्थापनका लागि प्रहरी चौकी राख्न माग गरिएको हो ।
विभिन्न मितिमा सरोकारवालाहरुले प्रहरी चौकीको माग गरेपछि साउन १८ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले प्रहरी चौकी राख्न सिफारिस गरेको हो । सुरक्षा समितिको निर्णयसंगै प्रहरी प्रधान कार्यालयमा प्रहरी चौकी स्थापनाको विषयमा जानकारी पठाइएको छ ।
गाँउपालिका केन्द्रको सुरक्षा व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिले प्रहरी चौकी राख्न आवश्यक निर्णय गरेको दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताउनुभयो । नौगाड गाँउपालिकाको केन्द्र होपरीगाँडमा, दुहुँ गाँउपालिकाको केन्द्र हिकिलामा र लेकम गाँउपालिकाको केन्द्र रातामाटामा प्रहरी चौकी राख्न सिफारिस गरिएको छ ।
नौगाड गाँउपालिकाको केन्द्र होपरीगाडमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट पुग्न ५ घण्टा लाग्ने तथा प्रहरी चौकी सिप्टीबाट पुग्न ३ घण्टा लाग्ने भएकाले नयाँ प्रहरी चौकी माग गरिएको हो । प्रहरीको उपस्थिति हुन नसक्दा गाँउपालिका केन्द्रमा बैंकिङ सेवा पुग्न नसकेकाले प्राथमिकताका साथ सिफारिस गरिएको छ ।
दुहुँ गाँउपालिका केन्द्र हिकिला इलाका प्रहरी कार्यालय हुतीबाट दुइ घण्टाको दूरी तथा प्रहरी चौकी ब्रह्मदेवबाट ३ घण्टाको दूरीमा रहेकाले नयाँ चौकी स्थापनाको औचित्य देखाइएको छ । हिकिलामा पनि प्रहरीको उपस्थिति नहुदा बैंकिङ सेवा सञ्चालन हुन नसकेको जनाइएको छ ।
लेकम गाँउपालिकाको केन्द्र रातामाटामा हालसम्म प्रहरीको उपस्थिति नभएको तथा इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट टाढा रहेकाले नयाँ चौकी राख्न सिफारिस गरिएको डिएसपी नवराज अधिकारीले बताउनुभयो ।
हालसम्म दुहुँ गाँउपालिकाको केन्द्र हिकिलामा इलाका प्रहरी कार्यालय हुतीबाट केही सुरक्षाकर्मी परिचालन गरिएका छन् भने नौगाड गाँउपालिकाको केन्द्रमा प्रहरी चौकी सिप्टी र दल्लेखबाट सुरक्षा दिइएको छ । लेकम गाँउपालिकाको हालसम्म केन्द्र रहेको खरकडामा इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट सुरक्षाकर्मी परिचालन हुँदैआएका छन् ।
गाँउपालिका केन्द्रहरुमा स्थायी रुपमै प्रहरीको उपस्थिति गराउने उद्देश्यले नयाँ चौकीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सुरक्षा संवेदनशीलताका कारण आगरमा नयाँ चौकी
शैल्यशिखर नगरपालिकाको वडा नम्बर ५ आगरमा सुरक्षा संवेदनशीलताका कारण नयाँ प्रहरी चौकी राख्ने प्रक्रिया थालिएको छ । स्थानीयस्तरबाट समेत माग भएपछि जिल्ला सुरक्षा समितिको साउन १८ को बैठकले आगरमा प्रहरी चौकी राख्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो ।
महाकाली लोकमार्गले जोडिएको आगर क्षेत्रमा आपसी झगडा, विवाद र घटनाहरु भइरहेका छन् । इलाका प्रहरी कार्यालय गोकुलेश्वर र प्रहरी चौकी मालिकार्जुनको मध्यक्षेत्रमा रहेको आगरमा नयाँ प्रहरी युनिटकै आवश्यकता महशुस गरिएको छ ।
पछिल्लो एक वर्षमा मात्रै आधा दर्जनभन्दा कुटपिट, विवादका घटना यसक्षेत्रमा भएका छन् । जनप्रतिनिधिहरुसमेत कुटपिट र विवादका घटनामा जोडिएपछि आगर क्षेत्रमा प्रहरीको उपस्थिति महशुस गरिएको सुरक्षा स्रोतले बतायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here