तीनजना प्रहरी सहित थप १२ जनामा कोरोना पुष्टि

0
886

दार्चुला, मंसिर १० गते ।
दार्चुलामा बुधबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाकाली नगरपालिकाको वडा नं ४ क्षेत्रका ११ जना र लेकम गाउँपालिका वडा नं १ का एक जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
महाकाली नगरपलिका क्षेत्रका देखिएका ११ जना संक्रमितहरु मध्ये ३ जना प्रहरी, १ जना स्वास्थ्यकर्मी, १ जना राष्टसेवक कर्मचारी र अन्य स्थानिय रहेको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोहन महराले जानकारी दिनुभयो ।
महाकाली नगरपालिकाबाट कोरोना परिक्षणका लागि कन्टेक्ट ट्रेसीङमा परेका ४२ जनाको कोरोना परिक्षण गरिएको थियो जसमध्ये पाँच बर्ष देखि ७२ बर्ष उमेर समुहका ११ जनामा कोरोना पुष्टि भएको र बाकिको रिर्पाेट नेगेटीभ आएको उहाँले जानकारी दिनुभयो ।
लेकम गाउँपालिकाको वडा नं १ मा कोरोना पुष्टि भएका पुरुष उपचारका लागि बाहिर गएको र कोरोना परिक्षण गर्दा नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभयो ।
दार्चुलामा हाल सम्म २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल जिल्लामा २९ जना मात्रै संक्रिय संक्रमित रहेको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । सक्रिय कोरोना संक्रमितहरु मध्ये एक जना मात्रै अस्पतालमा उपचाररत रहेका र बाकि होम आइसोलेसनमा रहेको उहाँको भनाई छ ।