तिमुरबाटा तोसाराडी हुदै बडुगाउँ बानानी जोड्ने सडक निर्माण गर्न ब्यास गाउँपालिकाको माग

0
965

भारतीय बाटो हिड्नुपर्ने बाध्यता हुदाँ सीमा अतिक्रमणका विषयमा ब्यासका जनता कडा प्रतिबाद गर्ने अवस्थामा नरहेको ब्यास गाउँपालिकाको ठहर

बिरा दत्त भट्ट
दार्चुला, मंसिर १९ गते । ब्यास गाउँपालिकालाई सदरमुकाम खलंगा संग जोड्ने छोटो बाटोको रुपमा रहेको तिमुरबाटा हुदै बनानी जोड्ने सडक निर्माण गर्न ब्यास गाउँपालिकाका जनप्रतिनिधीहरुले प्रदेश सरकार संग माग गरेका छन् ।
क्षेत्र नं १ बाट निर्वाचित सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्वु सिह बोहरा मार्फत मुख्य मन्त्रीलाई शुक्रबार ज्ञापन पत्र बुझाउदै ब्यास गाउँपालिकाका जनप्रतिनिधीहरुले उक्त माग गरेका हुन् ।
ब्यास गाउँपालिका उपाध्यक्ष हेमा भट्ट तथा छ वटै वडाका वडाध्यक्षहरुले तिमुरपाटा– तोसाराडी– बानानी हुदै बसेडी –धौलाकोट–डोकट–मडगाउँ देखी वडा नं २ माल जोड्ने सडकको निर्माणकार्य यथासिघ्र गर्न सुदुरपश्चिम प्रदेश सरकारसंग माग गरेका छन् ।
ब्यास गाउँपालिकाका जनताहरु हाल सम्म सडकको पहुचँबाट टाढा रहेकाले महाकाली नदी माथी तुइनमा तरेर भारतीय बाटो बाट दार्चुला सदरमुकाम आवत जावत गर्दा हेपाई खेप्नु पनि परिरहेको गाउँपालिकाको ठहर छ ।
महाकाली नदी माथि तुइन तर्दा एकातिर ज्यान जोखिममा परिरहेको तथा अर्काेतिर भारतीय सुरक्षाकर्मी र भारतीय नागरिकको अभद्र ब्यहार पनि खेप्नु परिरहेको ज्ञापन पत्रमा उल्लेख छ ।
सामरिक महत्व बोकेको ब्यास गाउँपालिका क्षेत्रका जनतालाई राज्यले धेरै भन्दा धेरै सुविधा दिनु भन्दा यस क्षेत्रका जनता यातायातको पहुँचमा समेत नपुगेका कारण दुखि रहेको ब्यास गाउँपालिकाको ठहर छ ।
ब्यास क्षेत्रका जनतालाई यातायात संग जोड्न प्रदेश सरकारले प्राथमीकतामा राखी डिपिआर समेत तयार पारेको तिमुरबाटा–तोसाराडी–बडुगाउँ हुदै धौलाकोट–डोकट र वडा नं २ माल जोड्ने सडकको ठेक्का भइसक्दा समेत निर्माण नहुनु ब्यासका जनताप्रतिको अन्याय भएको ब्यास गाउँपालिका उपाध्यक्ष हेमा भट्टको भनाई छ ।
कालापानी, लिपुलेक र लिम्पीयाधुरा जोड्ने सबै भन्दा छोटो दु्रीको मार्गका रुपमा रहेको उक्त सडक राष्ट्रियता र सीमा सुरक्षाका दृष्टिकोणले समेत महत्व राख्ने भएकाले सडक निर्माण कार्यमा प्रदेश सरकारले देखाएको ढीलासुस्ती प्रति खेद प्रकट गर्दछौ, ज्ञापन पत्रमा भनिएको छ ।
जिल्ला समन्वय समिति र दुहु गाउँपालिका मार्फत त्यस क्षेत्रका जग्गा धनीहरुलाई आवस्यक समन्वय गर्नुपर्ने वा सम्भव नभए श्रीवडग देखि नै महाकाली नदी किनारै किनार सडक निर्माण गरिनुपर्ने ब्यास गाउँपालिकाका जनप्रतिनिधीहरुको माग छ ।
प्रदेश सरकारले उक्त सडकलाई राष्ट्रिय सडक स्तरको मान्यता दिई प्रदेश गौरवको सडक भित्र राख्नु पर्ने र यथासिघ्र निर्माणकार्य सुरु गर्नुपर्ने जनप्रतिनिधीहरुको माग छ ।
दार्चुला तिंकर सडकको स्तरोन्ती नहुदाँ र तिमुरपाटा–बनानी हुदै माल जोड्ने सडकको निर्माण नहुदाँ ब्यास क्षेत्रका जनताले भोगिरहेको समस्यालाई ध्यानमा राख्दै यसै आर्थिक बर्षबाट सडकको निर्माणकार्य सुरु गरिनुपर्ने ब्यास गाउँपालिकाका जनप्रतिनिधीहरुले सुदुरपश्चिम प्रदेश सरकार संग माग गरेका छन् ।
प्रदेश सभा सदस्य गेल्बु सिह बोहरा मार्फत सुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाउँन ब्यास गाउँपालिका उपाध्यक्ष हेमा भट्ट, वडा नं १ का वडाध्यक्ष असोक सिह बोहरा, वडा नं २ का वडाध्यक्ष धिरन सिह बुढाथोकी, वडा नं ३ का वडाध्यक्ष उपेन्द्र सिह धामी, वडा नं ४ का वडाध्यक्ष संग्राम सिह विष्ट, वडा नं ५ का वडाध्यक्ष मंगल सिह धामी र वडा नं ६ का वडाध्यक्ष मनोज सिह कुवँर दार्चुला सदरमुकाम खलंगा पुगेका थिए ।
प्रदेश सरकारले यथेष्ट बजेट विनियोजन गरि चालु आर्थिक बर्षबाट नै उक्त सडकको निर्माणकार्य सुरु नगरेमा ब्यासका जनताको ब्यापक सहभागितामा कडा संघर्षमा उत्रिने ब्यास गाउँपालिकाका जनप्रतिनिधीहरुको भनाई छ ।