तिगरम पुल सञ्चालनका लागि पत्राचार

2569

दार्चुला, भदौ ६ गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाल भारत जोड्ने तिगरम पुल सञ्चालनमा ल्याउन भारतीय पक्षलाई बुधवार पत्राचार गरेको छ । भदौ ३ गतेदेखि पहिरोका कारण आवतजावत बन्द गरिएको तिगरम पुल सुचारु गर्न पत्राचार गरिएको हो ।
प्राविधिक प्रतिवेदनको अध्ययन, विश्लेषणपछि नियन्त्रित रुपमा झोलुंगेपुल सञ्चालन गर्ने निस्कर्षमा स्थानीय प्रशासन पुगेको हो । महाकाली नदीमाथि दुई वर्षअघि निर्माण गरिएको तिगरमको झोलुंगेपुलको नेपालतर्फ पुलमाथिबाट पहिरो खसेपछि आवतजावत बन्द गरिएको थियो ।
व्यास गाँउपालिका वडा नम्बर ५ तिगरम र भारतको धारचुला तहसिलअन्तर्गत रौती भन्ने ठाँउ जोड्ने गरी झोलुंगेपुल बनाइएको छ । ‘सुरक्षाकर्मीको विशेष निगरानी र पानी नपरेको अवस्थामा’ सतर्कतापूर्वक पुलबाट आवतजावत गराउने स्थानीय प्रशासनको निस्कर्ष छ ।
‘पानी नपरेको अवस्थामा सतर्कता साथ सुरक्षित आवतजावत गर्न सकिने’ प्राविधिक प्रतिवेदन आएपछि प्रशासनले यस्तो निस्कर्ष निकालेको हो । जिल्ला प्रशासनले सोमबार दुइटा छुट्टाछुट्टै टोली परिचालन गरेर झोलुंगेपुलको अवस्थाबारे स्थलगत अध्ययन गराएको थियो ।
नेपाली पक्षको आग्रहमा पहिरोका कारण झोलुंगेपुल बन्द गराइएकाले धारचुलास्थित एसडिएम कार्यालयलाई पुलबाट आवतजावत सुचारु गर्नमा सहयोग गर्न बुधवार पत्राचार गरिएको छ । नेपालतर्फ पनि नेपाल प्रहरीको सुरक्षा निगरानीमा सतर्कतापूर्वक आवतजावत सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो ।
व्यास गाँउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष मंगलसिह धामीले जिल्ला प्रशासन कार्यालयको पत्र धारचुलास्थित एसडिएम कार्यालयमा पुर्याएर पुल सञ्चालनको पहल गरेका छन् । एसडिएम कार्यालयको पत्र समेत बोकेर वडाअध्यक्ष धामी झोलुंगेपुल खुलाउन बुधवार साँझ तिगरमका लागि हिडेको व्यास गाँउपालिकाका नासु रामदत्त जोशीले बताउनुभयो ।
सम्भतः बुधवार बेलुकीदेखि नै झोलुंगे पुलबाट आवतजावत सुचारु गर्ने प्रयास भइरहेको नायव सुब्बा जोशीले जानकारी दिनुभयो । बुधवार बेलुकीदेखि सम्भव नभए विहिवार विहानदेखि झोलुंगेपुल सञ्चालनमा ल्याइनेछ । स्थानीय प्रशासनले रातीको समय र पानीको परेको समयमा भने झोलुंगेपुलबाट आवतजावतमा रोक लगाइने जनाएको छ ।
पुलमाथिबाट खसेको पहिरोले जोखिम बढाएकाले सर्तकतासाथ आवतजावत गराइने दार्चुला प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक हिक्मतवहादुर बोहराले बताउनुभयो । इलाका प्रहरी कार्यालय हुतीबाट तिगरम पुलको सुरक्षाका लागि विगतदेखि नै प्रहरी टोली परिचालन हुँदैआएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !