तिंकर सडकमा जिलेटिन प्रयोग सुरु

0
3707

सन्तोष कोट्टारी, दार्चुला, भदौ ४ गते ।
दार्चुला–तिंकर सडक निर्माणमा आइतवारदेखि जिलेटिनको प्रयोग सुरु भएको छ । असार १० गते बझाङबाट ल्याइएको जिलेटिन झण्डै २ महिना पश्चात् पड्काउन थालिएको हो । जिलेटिन जिल्लामा पुगेको करिब २ महिना पश्चात् प्रयोग गर्न थालिएको हो ।
दार्चुलास्थित नेपाली सेनाको दुर्गा दल गुल्मका सहायक सेनानी ऋषिराम न्यौपानेको नेतृत्वमा १० जनाको नेपाली सेनाको टोलीको सुरक्षा घेरामा पहिलो पटक जिलेटिन प्रयोग गरिएको हो । आइतवार विहान साढे ७ बजे सुरक्षा टोली, विस्फोटक पदार्थसहित भरिया र आयोजनाका कर्मचारी दुहुँ गाँउपालिकाको वडा नम्बर १ पिपलचौरीस्थित विजयपुर भीर प्रस्थान गरेका थिए । नेपाली सेनाको टोलीले लगेको सबै जिलेटिन पड्काएर फर्किएको छ । नेपाली सेनाको टोलीले लगेको जिलेटिन अझै अपुग भएको नेपाली सेनाका सहायक सेनानी ऋषिराम न्यौपानेले जानकारी दिनुभयो । जिलेटिन पड्काएर सेनाको टोली आइतवार नै खलंगा फर्किसकेको छ ।
चट्टानमा विष्फोटक पदार्थ पड्काउनका लागि ७० ओटा प्वालहरुमा जिलेटिन पड्काइको दार्चुला तिंकर सडक आयोजनाका सूचना अधिकारी एवम् इन्जिनियर दिनेश रैखोलाले जानकारी दिनुभयो । ७० ओटा प्वालहरुमा ३६ किलोग्राम जिलेटिन पदार्थ पडकाइएको आयोजनाका इन्जिनियर रैखोलाले जानकारी दिनुभयो ।
यसअघि भाद्र १ गते नै दार्चुला तिंकर सडकमा जिलेटिन पड्काइने बताइए पनि २ दिन ढिला गरी आइतवार मात्रै जिलेटिन पड्काइएको हो । दुहूँ गाउँपालिकाको विजयपुर भीरमा कडा चट्टान लागेकाले दार्चुला तिंकर सडक निर्माणको काम प्रभावित हुँदैआएको छ । आयोजनालाई जिलेटिन उपलब्ध नहुदाँ दुई वर्षदेखि सडक निर्माणको काम ठप्पप्रायः रहेको थियो ।
जिलेटिन अभावका कारण अबरुद्ध भएको दार्चुला तिंकर सडक खण्डका लागि बझाङबाट नेपाली सेनाको सुरक्षा घेरामा दार्चुला सदरमुकाम खलंगा पुगाइएको जिलेटिन पदार्थ प्रयोगमा ल्याउन झण्डै २ महिना लागेको छ । जिलेटिन ढुवानी, भण्डारण र प्रयोगमा नेपाली सेनाको सुरक्षा निगरानी हुने प्रावधान रहेकाले सेनाले दार्चुला तिंकर सडक योजनासंग यसबारे सम्झौता गरेको छ ।
जिलेटिन पदार्थको अभावमा दार्चुला तिंकर सडक निर्माणले हालसम्म गति लिन सकेको छैन । बझाङ जिल्लाको कालाङ्गाड जलविद्युत् आयोजनाबाट ९ हजार ३ सय किलोग्राम जिलेटिन असार १० गते नै जिल्ला सदरमुकाम खलंगा ल्याइएको थियो । हालसम्म प्रयोग गर्न नसकिएको उक्त जिलेटिनमध्ये ३६ किलोग्राम आइतवार प्रयोग गरिएको छ ।
खण्डेश्वरी सडकमा पनि विस्फोटको तयारी
मार्मा क्षेत्रको पारीबगड–खण्डेश्वरी सडक खण्ड अन्तरगतको मकरीगाडका लागि पनि नेपाली सेनाको टोली जाने भएको छ । उक्त सडक खण्ड अन्तरगत मकरीगाडमा पनि कडा चट्टान लागेकाले उक्त क्षेत्रमा पनि जिलेटिन पदार्थ प्रयोग गरिने सहायक सेनानी ऋषिराम न्यौपानेले जानकारी दिनुभयो । उक्त क्षेत्रमा विस्फोटका लागि प्वाल तयार गर्ने काम भइरहेको र प्वाल तयार हुने वित्तिक्कै सेनाको टोली परिचालन हुने न्यौपानेको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here