तिंकर र जोलजिवीमा विओपी भवन बन्ने

2261

दार्चुला, साउन ११ गते ।
सशस्त्र प्रहरीले चीन सिमानजिकको तिंकर र भारतीय सिमाक्षेत्र पर्ने मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिवीमा विओपी भवन निर्माण प्रक्रिया अघि बढाएको छ । जोलजिवी र व्यास गाउँपालिकाको वडा नम्बर १ तिंकरको छियालेकमा विओपी स्थापनाका लागि भवन निर्माण गर्न टेण्डर निकालिएको छ ।
तिंकर र जोलजिवी विओपीका लागि भवन निर्माणको लागि असार ३० गते टेण्डर निकालिएको सशस्त्र प्रहरी वल ५० नम्बर गुल्मका गुल्मपति डिएसपी डम्बरवहादुर विष्टले बताउनुभयो । दुबै स्थानमा विओपी भवन निर्माणका लागि एक÷एक करोड बजेट रहेको उहाँले जानकारी दिनुभयो ।
जोलजिवीमा तीन हप्ताअघि विओपी स्थापना भइसकेको छ । तिंकरको छियालेकमा भने सशस्त्र प्रहरीको टोली पुग्न बाँकी छ । तिंकरको छियालेक क्षेत्रमा भवन नहुँदा तत्काल सुरक्षाकर्मी पठाउन नसकिएको डिएसपी विष्टले बताउनुभयो ।
जोलजिवी र तिंकरमा केही महिनाभित्रै भवन निर्माण गरिसक्ने योजना छ । तिंकरमा २ सय वर्गमिटरको व्यारेक भवन र ५४ वर्गमिटरको अफिस भवन निर्माण गरिने छ । शौचालयलगायतका संरचना पनि भवनसंगै बनाइने छन् । जोलजिवीमा ५४ वर्गमिटरका दुइटा भवन बनाउने डिजाइन छ ।
तिंकर र जोलजिवीको विओपी भवन निर्माणका लागि समान ८५ लाख ३ हजार ८ सय ९२ रुपैयाँ लागत अनुमान छ । सशस्त्र प्रहरी वलको हेडक्वाटरले २५ जिल्लाका ६३ स्थानमा विओपी भवन निर्माणको टेण्डर एकसाथ प्रकासित गरेको छ । गत आर्थिक वर्षको बजेटबाट टेण्डर निकालिएको हो ।
जोलजिवी र तिंकर दुबै स्थानमा भन्सार कार्यालयको नाममा रहेको जमिनमा सशस्त्र प्रहरीले भवन बनाउने छ । देशभरीका ९० स्थानमा भन्सार कार्यालयको जमिनमा सशस्त्र प्रहरीको संरचना बनाउन लागिएको हो ।
तिंकरको छियालेकमा छोटी भन्सार कार्यालयको नाममा ३८ रोपनीभन्दा बढी जमिन छ । जोलजिवीमा भन्सारको दुई तले पुरानो भवन छ । भन्सारको पुरानै भवनमा हाल सशस्त्र प्रहरीको विओपी राखिएको छ । जोलजिवी बजारमा रहेको भन्सारको जमिन नेपाल–भारत जोड्ने करिब २ सय मिटरको दूरीमा छ । विओपी कार्यालयमा पुलक्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न समस्या नभएको सशस्त्र प्रहरीका डिएसपी डम्बरवहादुर विष्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !