ताक्लाकोटमा अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट बन्दै

875

दार्चुला, असोज २३ गते ।
चीनले भारत र नेपालको सीमा नजिक तिब्बतको ताक्लाकोटमा एयरपोर्ट निर्माण सुरु गरेको छ । भारतीय सेटेलाइटले एयरपोर्ट निर्माण भइरहेको दृश्य खिचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारत र चीनबीच सैन्य तनाव भइरहेका बेला निर्माण थालिएको एयरपोर्टबारे भारतीय सञ्चारमाध्यमले महत्व दिएका छन् । त्रिदेशीय सीमा नजिक सैन्य प्रयोजनका लागि एयरपोर्ट निर्माण भइरहेको भारतीय सञ्चारमाध्यमले आशंका गरेका छन् ।
टिभी ९ भारतवर्षले ताक्लाकोट नजिक चीनले एयरपोर्ट बनाइरहेको समाचार सार्वजनिक गरेको छ । भारतीय सुरक्षा निकायलाई उद्दृत गर्दै उक्त टेलिभिजनले एयरपोर्ट निर्माणबारे भारतीय सेना जानकार रहेको बताएको छ ।
चीनको तिब्बतमा पर्ने पवित्र कैलाश मानसरोवर क्षेत्रको धार्मिक पर्यटनलाई लक्षित गरी एयरपोर्ट बनाउन लागिएको बुझाइ पनि छ । ‘ताक्लाकोट नजिक अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट बन्ने गृहकार्य गतवर्ष नै भइरहेको थियो’ ताक्लाकोटमा व्यापार गर्दैआएका दार्चुलाका एक व्यवसायीले भन्नुभयो ।
ताक्लाकोट बजारबाट ८÷१० किलोमिटर उत्तरपूर्वमा एयरपोर्टका लागि ठाउँ छनौट गरिएको उहाँले बताउनुभयो । ‘कैलाश मानसरोवर जाने हाइवे नजिक एयरपोर्ट निर्माण हुने गतवर्ष नै चर्चा थियो’ उहाँले भन्नुभयो, ‘यो वर्षदेखि एयरपोर्टको निर्माण सुरु भएको हुनसक्छ ।’
कैलाश मानसरोवर यात्रा र पर्यटनलाई बढाउन चीनले उक्त क्षेत्रमा एयरपोर्ट निर्माण गर्न लागेको ताक्लाकोटमा व्यापार गर्दैआएका दार्चुलाका अर्का व्यवसायीको भनाई छ । ‘अहिलेसम्म कैलाश यात्रा पैदल र सडक मार्गबाट हुँदैआएको छ, हवाइ सुविधा विस्तार गरेर पर्यटन बढाउने चीनको योजना हुनसक्छ’ उहाँको भनाई छ ।
भारत र चीनबीच सैन्य तनाव भइरहदा एयरपोर्ट निर्माणलाई सैन्य रणनीतिका रुपमा हेरिएको बुझाइ छ । ‘भारतको पिथौरागढमा पनि नैनीसैनी एयरपोर्ट छ, त्यो एयरपोर्ट सर्वसाधारण र पर्यटकका लागि हो तर आवश्यकताअनुसार सैनिक विमान पनि उडिरहेको छ’ दार्चुलास्थित एक सुरक्षा अधिकारीले भन्नुभयो । ‘एयरपोर्ट, सडक जस्ता पूर्वाधारहरु आवश्यकताअनुसार सैन्य प्रयोजनका लागि प्रयोग हुनु स्वाभाविकै हो, भारत, चीन, नेपाल जहाँ पनि यस्तो अभ्यास र प्रयोग हुन्छ’ ती सुरक्षा अधिकारीको भनाई छ ।
चीनले ताक्लाकोटमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट एक दुई वर्षभित्रै निर्माण सम्पन्न हुने आकलन छ । ‘निर्धारित समयसीमा भन्दा पहिले नै काम सम्पन्न गर्ने चीनको अभ्यास र संस्कारले एयरपोर्ट निर्माण चाँडै हुन्छ भन्ने बुझाइ छ’ ताक्लाकोटमा व्यापार गर्दैआएका एक व्यवसायीले भन्नुभयो ।

ताक्लाकोट बजार लिपुलेक नाकाबाट १६ किलोमिटर र तिंकर भञ्ज्याङको नाकाबाट २० किलोमिटरको दूरीमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !