तथ्यगत निष्कर्षमा पुगियोस्

0
651

सम्पादकीय
ब्याँस गाउँपालिकाको मालका जयसिह भारतीय पक्षले तुइन फुकालेपछि महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीलाई अध्ययन अनुसन्धानका लागिभन्दै अझै एक हप्ता थपिएको छ ।

दश दिने समयावधि पाएको टोलीले घटनास्थलको अध्ययन, प्रत्यक्षदर्शीसँगको सोधपुछ र अन्य सरोकारवालाहरुसँगको छलफलपछि एक हप्ता थप समय मागेको थियो भने थपिएको समयमा पनि प्रतिबेदन तयार नभएको भन्दै थप एकहप्ता म्याद बढाइएको छ । थप समय प्रतिबेदनलाई अन्तिम रुप दिने र लेखन कार्यमा खर्च गरिने टोलीले जानकारी दिएको छ । टोलीले आफ्नो प्रतिबेदनलाई अन्तिम रुप दिएको छैन तर पनि सञ्चारमाध्यमहरुमा एसएसबीले तुइन फुकाएकै कारण जयसहि महाकालीमा बेपत्ता भएको टोलीको अध्ययनले देखाएको भन्ने समाचार सार्वजनिक भएका छन् । टोलीका सदस्य वा सरकारका कुनै पनि अधिकारीको भनाईबेगर उक्त समाचारको विश्वसनीयता त छैन तर वास्तविकता यहि नै हो । यो वास्तविकताभन्दा बाहिर गएर टोलीले आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दछ भने त्यो आम नागरिकले स्वीकार्ने छैनन् ।
घटनाको छानबिन गर्न गठित टोलीलाई पनि दुई हप्ताभन्दा बढी भएको छ र थप एक हप्ता समय थपिएको छ । अहिलेसम्म प्रतिबेदन तयार किन हुन सकेन ? के घटनाको प्रवृत्ति जटिल थियो, के घटनाको पीडित पक्ष (बेपत्ता जयसिह)सित भेट हुनु पर्दथ्यो, के पीडकलाई सम्पर्क गर्न सकिने अवस्था छ, के प्रत्यक्षदर्शीको भनाईमा सत्यता छैन वा टोलीलाई सरकारले पर्याप्त साधान स्रोत दिएको छैन ? टोलीले यस्ता प्रश्नहरुको जवाफ दिनु पर्ने एकातिर छ भने अर्कातिर भारतीय पक्षलाई बचाउ गर्ने गरी प्रतिबेदन कसरी बनाउने भन्ने अप्ठेरो पनि हुन सक्छ । आफ्नो जागिरे जीवनको उत्तरार्धको बेला अनुसन्धानमा कुनै कैफियत नराख्ने र सत्यतथ्य बाहिर ल्याउने टोलीका संयोजकको प्रतिबद्धताले ती तमाम सम्भावनालाई नकार्दछ तर पनि ढिलाईका कारण आम नागरिकमा आशंका पैदा हुनु स्वभाविक हो ।
तीन हप्ताभन्दा बढी समय लगाएर गरिएको अध्ययन अनुसन्धानले वास्तविकता बाहिर ल्याएसँगै सरकारको यो घटनाप्रति धारणा सार्वजनिक हुनेछ र भारतीय पक्षसँग यो विषयमा वार्ता हुनेछ । कम्तिमा पनि महाकालीमा बेपत्ता जयसिहको परिवारलाई उचित क्षतिपूर्ति दिन सके सरकारको महत्वपूर्ण उपलब्धी मानिने छ । दोषिलाई कारवाहीका लागि भारतीय पक्षसँग पत्राचार गर्न मात्रै त सक्ने हो नेपाल सरकारले कारवाही गर्ला नगर्ला भारत सरकारको कुरा हो । त्योभन्दा अझ पेचिलो कुरा महाकाली नदीमाथि बन्न नसकेको पुलको निर्माण र अधुरो रहेको खलंगा–तिंकर सडकको निर्माण नै हो । आफ्नै बाटोबाट आवतजावत गर्ने अवसर हुन्थ्यो तर जयसिहले महाकालीमा बेपत्ता हुनु पर्ने अवस्था आउने थिएन ।