तटबन्ध निर्माणमा नेपाली पक्षलाई झुक्याउदै, फकाउदै र तर्साउदै छिमेकी

125

दार्चुला, माघ ६ गते ।
दार्चुला सदरमुकाम खलंगा क्षेत्रको महाकाली नदी किनारमा छिमेकी भारतले सीमा मिचेर तटबन्ध निर्माण गरिरहेको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक नोट पठाएर तटबन्ध निर्माणको विरोध गरे पनि भारतले टेरेको छैन । स्थानीय प्रशासनिकस्तरको छलफलमा भने भारतीय पक्षले नेपाली पक्षलाई झुक्याउदै आएको छ । नेपाली पक्षलाई झुक्याउने, फकाउने र तर्साउने अभ्यास छिमेकीले सीमामा गर्दैछ ।
दुइ देशका स्थानीय प्रशासनबीच सम्पर्क गरिए पनि तटबन्ध निर्माणमा भइरहेको सीमा अतिक्रमण रोकिएको छैन । सदरमुकाम खलंगाको ठिक पारीपट्टि रहेको धारचुला बजारको सुरक्षाको लागि भन्दै महाकाली नदीको प्राकृतिक वहावमा १० मिटरभन्दा बढी क्षेत्र अतिक्रमण भइरहेको छ । नदी किनार क्षेत्रमा तटबन्धको संरचना निर्माणको नाममा उक्त तटबन्धमाथि दुइ लेनको सर्भिस रोड निर्माणमा भारत सरकार जुटेको छ ।
दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा नेपाल सरकारले ५ किलोमिटर लामो पक्की तटबन्धको संरचना निर्माण अन्तिम चरणमा पुगाएको छ । नेपालकोजस्तै भारतले पनि नदी किनारमा तटबन्ध निर्माण गर्न लागेको हो । नेपालतर्फको तटबन्ध निर्माण गरिदा महाकाली नदीको प्राकृतिक वहावलाई असर नपर्ने गरी संरचना बनाइएको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ ।
२०७० सालको वाढीपछि सदरमुकाम क्षेत्रको सुरक्षाका लागि नेपाल सरकारले ३ अर्ब ५ करोड लागतको पक्की तटबन्धको संरचना निर्माण सुरु गरेको थियो । नदीको वहाव क्षेत्र ९० मिटर चौडाइ राखेर नेपालतर्फको तटबन्ध संरचना बनाइएको आयोजनाले जनाएको छ । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा नदीको औषत प्राकृतिक वहाव क्षेत्र ९० मिटर चौडाइमा हुने उल्लेख गरिएको छ ।
नेपालतर्फको तटबन्ध निर्माण गरिदा नदीको प्राकृतिक वहाव क्षेत्रलाई ध्यानमा राखिए पनि हाल भारतले नदीको वहाव क्षेत्र साघुरिने गरी तटबन्ध निर्माण गरिरहेको छ । धारचुलाको मुख्य बजार क्षेत्रको नदी किनारमा ९ सय ८५ मिटर लामो पक्की तटबन्ध निर्माण धमाधम भइरहेको छ । ‘भारतले नेपालतर्फको भन्दा १ मिटर उचाईको तटबन्ध संरचना बनाउदैछ । नदीको वहाव परिवर्तन हुने गरी भारतले संरचना बनाउदैछ’ सदरमुकाम खलंगाको बंगाबगर क्षेत्रका वासिन्दाको भनाई छ । नदीको वहाव क्षेत्रमा १० मिटर चौडाक्षेत्र अतिक्रमण गरी भारतले तटबन्ध निर्माण गर्दा नदीको चौडाइ साघुरिएको स्थानीय बताउँछन् ।
भारतले निर्माण गरिरहेको तटबन्धको संरचनाले भविष्यमा थप जोखिम निम्त्याउनेमा स्थानीय वासिन्दा चिन्तित छन् । यसका साथै पुलघाट क्षेत्रमा भारततर्फको नदी किनारमा थुप्रिएको ढुंगामाटो नहटाइदा नदीको वहाव नेपालतर्फ फर्किएको छ । नेपाली पक्षले पटक–पटक नदी किनारमा थुप्रिएको ढुंगामाटो हटाएर मध्यभागमा नदीको पानी फर्काउन आग्रह गर्दैआएको छ । तर, भारतीय पक्षले तटबन्ध संरचना निर्माणको नाममा नदी किनारको ढुंगामाटोलाई हटाएको छैन । उल्टैै नदीलाई ४० मिटर नेपालतर्फ डाइभर्सन गरेको छ । अहिले बंगाबगर क्षेत्रको करिब २ सय मिटर लामो क्षेत्रमा महाकाली नदीको वहाव नेपालतर्फको तटबन्धको संरचना ठोक्किएको छ । नदीको वहाव निरन्तर तटबन्धको संरचनामा ठोक्किदा संरचना कमजोर भएर नेपालतर्फ थप कटान हुनेमा स्थानीयको चिन्ता छ ।
सदरमुकाम खलंगाको बंगाबगर क्षेत्रमा नेपालतर्फ पनि नदी किनारमा ढुंगामाटो थुप्रिएको छ । त्यसक्षेत्रमा नेपालतर्फ ढुंगामाटो थुप्रिदा नदीको वहाव भारततर्फको किनारमा ठोक्किएको छ । यसक्षेत्रमा भारतले तटबन्ध निर्माण गरिरहेकोले भारतीय पक्षले नेपाली पक्षलाई थुप्रिएको ढुंगामाटो हटाउन दबाव दिदैआएको छ ।
नेपाली पक्षले पुलघाट क्षेत्रमा भारततर्फ थुप्रिएको ढुंगामाटो हटाएपछि मात्रै बंगाबगर क्षेत्रको नेपालतर्फको ढुंगामाटो हटाउने अडान राखेको छ । आइतवार जिल्ला प्रशासन कार्यालय दार्चुलामा भएको दुइ देशका अधिकारी र स्थानीय वासिन्दाबीचको छलफलमा पनि यही अडान राखिएको छ । भारतीय पक्षले छलफलको क्रममा नेपाली पक्षलाई फकाउने, झुक्याउने र थर्काउने प्रयास गरेको छलफलमा सहभागी स्थानीय बताउँछन् ।
‘दुई देश बीचको मित्रता भन्दै हामीलाई फकाएर बंगाबगर क्षेत्रको ढुंगामाटो हटाउन भारतीय पक्षले हामीलाई आग्रह गरेको छ’ छलफलमा सहभागी एक स्थानीयले बताए, ‘भारततर्फको तटबन्धको संरचना नदीको सीमा मिचेर बनाउने प्रस्ताव पनि भारतीय पक्षले राखेपछि नेपाली पक्षले लिखित सहमति गर्न मानेको छैन ।’ दुई देशबीचको मित्रता र समझदारीको नाममा झुक्याएर नदीको सीमा मिचेर तटबन्ध संरचना निर्माण गर्न नेपाली पक्षको लिखित सहमति लिने भारतीय प्रयास देखिएको छलफलका अर्का सहभागी बताउँछन् ।
छलफलमा सहभागी नेपाली पक्षले भारतीय प्रस्तावमा असहमति जनाएपछि व्यास जाने कुञ्चा (बसाइ–सराई)मा तपाईहरुलाई सहयोग चाहिएला नि ? भन्दै भारतीय पक्षका प्रतिनिधिले धम्की समेत दिएको ती सहभागी बताउँछन् । तटबन्ध निर्माणमा अवरोध गर्दै नेपालतर्फबाट ढुंगा प्रहार गरेको भन्दै धारचुलास्थित पुलिस थानामा ७ जना नेपालीविरुद्ध मुद्दा दर्ता समेत गरिएको छ । ‘मुद्दा दर्ता गरेर नेपालीहरुमाथि दबाव बढाउने भारतीय प्रयास देखिन्छ’ बंगाबगरका एक स्थानीय बताउँछन्, ‘व्यास जाने स्थानीय वासिन्दाको बाध्यतामाथि खेलेर भारतीय मोटरबाटो प्रयोग गर्न नदिनेसम्मको धम्की दिएर नेपाली पक्षलाई गलाउने भारतीय चाल छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस् !