ढिलो सर्कुलर हुदा दिवस मनाइएन

0
2259

दार्चुला, मंसिर ११ गते ।
नेपाल सरकारले तामझामका साथ मंगलवार राष्ट्रियस्तरमा पहिलो पटक सामाजिक सुरक्षा दिवस मनाइरहदा दार्चुलाका स्थानीय तहहरुमा भने दिवस कार्यक्रमको आयोजना हुन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ढिला सर्कुलर गरिदा दिवस कार्यक्रमको सञ्चालन हुन नसकेको स्थानीय तहहरुले बताएका छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्ले दिवस मनाउने निर्णय गर्दै देशभरीका सबै स्थानीय तहहरुमा विविध कार्यक्रमको आयोजना गर्न भनेको थियो । मन्त्रालयको वेभसाइटमार्फत पत्राचार गरिएको र समयमै जानकारी प्राप्त नहुदा दिवस कार्यक्रम मनाउन नसकिएको दार्चुलाका स्थानीय तहहरुले प्रतिक्रिया दिएका छन् ।
मंसिर ११ मा सामाजिक सुरक्षा दिवस मनाउन मंसिर १० गते मात्रै सर्कुलर गरिएको थियो । वेभसाइटमा राखिएको पत्र इन्टरनेट सुविधा नपुगेका स्थानीय तहहरुमा हेर्न समेत नसकिएको अवस्था छ । नेपाल सरकारले भने मंगलवार सामाजिक सुरक्षा दिवसको अवसरमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरुको शुभारम्भ गरेको छ ।
मन्त्रालयको दिवस मनाउने सर्कुलरबारे समयमै जानकारी हुन नसकेको शैल्यशिखर नगरपालिका प्रमुख अमरसिह धामीले बताउनुभयो र्। समयमै जानकारी प्राप्त भए दिवसको अवसरमा कार्यक्रम आयोजना गरिन्थ्यो, दिवस मनाउनेबारे ढिला जानकारी पाइयो’ उहाँले भन्नुभयो ।
सदरमुकाम क्षेत्रमा रहेको महाकाली नगरपालिकामा भने सामाजिक सुरक्षा दिवस हुन नसकेको कार्यक्रम अधिकृत युवराज जोशीले बताउनुभयो । नगरपालिका पदाधिकारीहरु वडा नम्बर १ छापरी भ्रमणमा रहेको र दिवसबारे समयमै जानकारी नभएकाले दिवसको अवसरमा कुनै कार्यक्रम हुन नसकेको कार्यक्रम अधिकृत जोशीको भनाई छ ।
मालिकार्जुन गाँउपालिकामा पनि दिवस मनाउनेबारे समयमै जानकारी प्राप्त नभएको प्रमुख प्रशासकीय अधिकृत हरिसिह साउदले बताउनुभयो । गाँउपालिका अध्यक्ष, उपाध्यक्षलगायतका जनप्रतिनिधि जिल्लाबाहिर रहेकाले पनि छोटो समयमा दिवस कार्यक्रमको आयोजना गर्न सम्भव नभएको उहाँले बताउनुभयो ।
दुहुँ गाँउपालिकामा पनि दिवस मनाउनेबारे जानकारी प्राप्त नहुदा कार्यक्रम गर्न नसकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवराज भट्टले बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंसिर ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरी देशभरीका सबै स्थानीय तहमा दिवस मनाउनमा समन्वय गर्न अनुरोध गरेको थियो । संघीय मामिला मन्त्रालयले सोमबार मात्रै दिवस मनाउने व्यहोराको सर्कुलर वेभसाइटमा राखेको थियो ।
समयमै जानकारी प्राप्त नभएकाले स्थानीय तहस्तरमा सामाजिक सुरक्षा दिवस हुन नसकेको जिल्ला समन्वय समिति प्रमुख करवीरवहादुर कार्की बताउनुहुन्छ र्। जानकारी पाएको भए सबै तहहरुमा केही न केही कार्यक्रमको आयोजना हुन्थ्यो, नेपाल सरकारले प्राथमिकता दिएको विषयलाई स्थानीय सरकारले पनि महत्व दिएर दिवस मनाउथे’ जिल्ला समन्वय समिति प्रमुख कार्कीले भन्नुभयो ।