डेढ महिनापछि महाकालीमा मोटरपुल निर्माण सुरु गरिने

2639

नेपाल र भारत दुई देश जोड्न दार्चुलास्थित महाकाली नदीमा डेढ महिनापछि मोटरपुल निर्माण सुरु हुने भएको छ । दुई देशका सरकारबीच भएको सम्झौताअनुसार भारत सरकारले मोटरपुल बनाउने तयारी थालेको हो ।
महाकाली नगरपालिकाको वडा नम्बर ८ धापको सुरकाडा र भारततर्फको बलुवाकोट नजिकको तल्लो छारछुम जोड्नेगरी मोटरपुल बन्ने भएको छ । दुई देशका प्राविधिकसहितका अधिकारीहरुले विहिवार मोटरपुल बन्ने स्थानको अवलोकन भ्रमण गरेका छन् ।
भारतको लोक निर्माण विभागका प्राविधिकहरुको टोलीसहित नेपाली प्राविधिक टोली र सुरक्षा अधिकारीहरुले पुल बन्नेस्थानको भ्रमण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको नेतृत्वको स्थलगत भ्रमण गरी वस्तुस्थितिबारे छलफल गरिएको छ ।
महाकाली नदीमा पुल निर्माणका लागि दुबै देशले सैद्धान्तिक सहमति गरिसकेका छन् । भारतीय लगानी र प्राविधिक सुपरीवेक्षणमा मोटरपुल बन्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका इन्जिनियर शंकर खनालले जानकारी दिनुभयो ।
यसअघि दुई देशको प्राविधिक टोलीले मोटरपुल बन्नेस्थानको सम्भाव्यता अध्ययन र स्थलगत भ्रमण गरिसकेका छन् । भारतको लोक निर्माण विभागले मोटरपुलको डिजाइन, इस्टिमेट तयार गरी ठेक्का प्रक्रिया समेत अगाडि बढाइसकेको विभागका कार्यकारी इन्जिनियर दीपक गुप्ताले बताउनुभयो ।
भारतीय पक्षले विहिवारको भ्रमण र छलफलमा नेपाली पक्षसंग पुल निर्माणस्थलको स्वीकृति माग गरेकको छ । आफ्नो पक्षबाट पुल निर्माणका लागि सबै प्रक्रिया अगाडि बढिसकेको भारतीय प्राविधिक टोलीको भनाई छ ।
धापको काकडा र असिगडाको बीचमा पर्ने सुरकाडा गाँउ नजिकै मोटरपुल बन्ने भएको हो । भारतीय पक्षको मागअनुसार नेपाल सरकारले पुल निर्माणस्थलको स्वीकृति दिन गृहकार्य थालेको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । ‘डिभिजन सडक कार्यालयले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ, सबै प्रक्रिया पुरा भएपछि हामी पुल निर्माणस्थलको स्वीकृति दिन्छौ’ प्रजिअ आचार्यले भन्नुभयो ।
सडक डिभिजनले मोटरपुल निर्माणस्थलसम्म सडकको पहँुचमार्ग बनाइने जनाएको छ । हालको महाकाली लोकमार्गदेखि मोटरपुलसम्मको सडक बनाइने इन्जिनियर शंकर खनालले बताउनुभयो । यसका लागि नापी, मालपोत लगायत सम्बन्धित कार्यालयसंग समन्वय गरिने उहाँले जानकारी दिनुभयो ।
पिथौरागढ जिल्लाको अस्कोटमा रहेको लोक निर्माण विभागको कार्यालयले मोटरपुल निर्माणको व्यवस्थापन गर्नेछ । विभागले पुल निर्माणको ठेक्काको सुचना खोलिसकेको छ भने अगस्ट २८ मा टेण्डर खोलिने कार्यतालिका रहेको कार्यकारी इन्जिनियर दीपक गुप्ताले बताउनुभयो ।
सेप्टेम्बर महिनामा ठेक्का सम्झौताका सबै प्रक्रिया पूरा गरी अक्कोवरको सुरुदेखि मोटरपुल निर्माणको कार्य सुरु गर्ने लोक निर्माण विभागको तयारी छ । त्यतिबेलासम्म नेपाली पक्षबाट पुल निर्माणस्थलको स्वीकृति प्राप्त हुने भारतीय पक्षको आश छ । मोटरपुल निर्माणमा नेपाली पक्षबाट स्वीकृतिपत्र अर्थात ‘नो अब्जेक्सन लेटर’ को आवश्यकता पर्दछ ।
मोटरपुलको लागत १५ करोड भारतीय रुपैयाँ रहेको छ । यद्यपि ठेक्का प्रक्रिया भएकाले ठेक्का अंक घटन सक्ने प्राविधिकहरुले बताएका छन् । निर्माण सुरु भएको १८ महिनाभित्र मोटरपुल निर्माण सम्पन्न गरिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग मोटरपुल निर्माणलाई गति दिनेबारे छलफल र सहमति भएको थियो । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा पनि महाकालीमा मोटरपुल बनाउनेबारे पहल गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !