डेंगुबाट दार्चुलामा ५ वर्षीया बालिकाको मृत्यु

580

दार्चुला, भदौ २३ गते ।
दार्चुलामा एक बालिकाको डेंगुबाट मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–४ का ५ वर्षीया बालिकाको उपचारका क्रममा विहिबार बिहान शंकरपुर स्वास्थ्य चौकी पस्तीमा मृत्यु भएको जनाएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ की ५ वर्षीया उषा धामीको डेंगुका कारण मृत्यु भएको हो । बालिका २१ गते दिउसो तिर शंकरपुर स्वास्थ्य चौकीमा उपचारका लागि भर्ना भएकी थिइन्। यसअघि उनी भाद्र २० गते जिल्ला अस्पताल दार्चुलामा समेत उपचारका लागि भर्ना भएको शंकरपुर स्वास्थ्य चौकीका मेडिकल अधिकृत निराजन बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पताल दार्चुलामा उनमा डेङ्गु र स्क्रब टाइफस सक्रमण देखिएको थियो । अस्पतालका डाक्टरहरुले बालिकामा डेङ्गु र स्क्रब टाइफस देखिएपछि अस्पतालमै भर्ना गरेर उपचार गराउन आग्रह गरेपनि उनका आफ्न्तले नमानेपछि घर गएको बुझिएको छ । आफन्तहरुले अन्य ठुलो अस्पताल लग्छौ भनेर बिरामी बालिकालाई अस्पताल नलगेर पुनः घरमै लगेको खुल्न आएको छ । बालिकालाई घरमा ज्वरोले झन च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा बिहीबार बिहान मृत्यु भएको थियो । पछिल्लो समय दार्चुलामा डेंगुको प्रकोप बढ्दै गएको छ । दार्चुला लगायत सुदूरपश्चिमका अन्य जिल्लामा पनि डेंगुका बिरामी बढ्दै गएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !