डीडीहाटका एकजनामा कोरोना संक्रमणको आशंका

0
1904

दार्चुला, चैत्र ६ गते ।
भारतको धारचुलादेखि ६० किलोमिटरको दूरीमा रहेको डीडीहाट क्षेत्रमा एकजनामाथि कोरोना संक्रमणको आशंका गरिएको छ । बुधवारबाट दिल्लीबाट डीडीहाट आइपुगेका नरेन्द्र कुमार नामका व्यक्तिलाई संक्रमण भएको आशंका छ ।
सामुदायिक स्वास्थ्य केन्द्र डीडीहाटमा स्वास्थ्यकर्मीहरुले उनको स्वास्थ्य चेकजाँच गरेको धारचुलास्थित पत्रकार राकेश तिवारीले बताउनुभयो । स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले नरेन्द्र कुमारलाई कोरोनाको संक्रमण भएको हुनसक्ने आशंका गरेका छन् । उनलाई थप उपचारका लागि पिथौरागढ पठाइएको छ ।
विहिवार साँझ ६ बजे नरेन्द्र कुमार आफैले फेसबुकमा डाक्टरले आफुमाथि कोरोना भाइरसको संक्रमण भएको आशंका गरेको सार्वजनिक गरेका छन् । भारत सरकारले भने उपचारको कुनै व्यवस्था नगरेको उनले गुनासो गरेका छन् । मास्क र औषधि उपलब्ध नभएको भन्दै नरेन्द्र कुमारले दुख व्यक्त गरेका छन् ।
नरेन्द्र कुमारलाई खोकी र ज्वरो देखिएको सामुदायिक स्वास्थ्य केन्द्र डीडीहाटका डाक्टर विवेकलाई उद्दृत गर्दै पत्रकार राकेश तिवारीले जानकारी दिएका छन् । ‘अहिले नै कोरोनाको संक्रमण घोषण गरिएको छैन तर आशंका गरिएकोले पुलिसको सहयोगमा विरामीलाई पिथौरागढ पठाइएको छ’ उहाँले भन्नुभयो ।
भारतको उत्तराखण्डमा हालसम्म एकजनामा मात्रै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । नरेन्द्र कुमारलाई केही लक्षण देखिए पनि अस्पतालको रिपोर्टबाट मात्रै कोरोना भए नभएकोबारे पुष्टि हुने जनाइएको छ ।