डिभिजन वन कार्यालयको बार्षिक क्रियाकलापको समीक्षा

821

साउन ४ गते, दार्चुला ।
डिभिजन वन कार्यालय दार्चुलाले एक आर्थिक बर्षभरि गरेका क्रियाकलापहरुको समीक्षा कार्यक्रम गरेको छ ।
डिभिजनल वन अधिकृत गोकुल रिजालको अध्यक्षतामा आईतबार गरिएको कार्यक्रममा डिभिजन वन कार्यालय दार्चुलाले आर्थिक वर्ष २०७६÷७७ मा गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराएको छ ।
डिभिजन वन कार्यालयले वार्षिक समिक्षा तथा प्लाष्टिकको झोलाको विकल्पमा झोला वितरण कार्यक्रमको आयोजना गरेको हो । गत आर्थिक वर्षमा भएको प्रगति, कमिकमजोरी, सञ्चालन भएका कार्यक्रम, योजना लगायतका बारेमा सीमाक्षा गर्न वार्षिक समीक्षा गोष्ठीको आयोजना गरिएको सहायक वन अधिकृत अमरसिंह धामीले बताउनु भयो ।
डिभिजन वन कार्यालय दार्चुलाले गत आर्थिक बर्षमा विभिन्न किसिमका १ लाख ६२ हजार ९ सय २० किलोग्राम जडीबुटी निकासी गरिएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा जिल्लाबाट तेजपात, टिमुर, च्याउँ जस्ता विभिन्न जातका जडीबुटीहरु निकासी गरिएको डिभिजनल वन अधिकृत गोकुल रिजालले बताउनुभयो ।
डिभिजन वन कार्यालयको गत आर्थिक वर्ष २०७६÷७७ मा वार्षिक वित्तीय प्रगति ७४.६३ प्रतिशत भएको डिभजिनल वन अधिकृत गोकुल रिजालले बताउनु भयो ।
डिभिजन वन कार्यालयलाई प्राप्त कुल बजेट ४ करोड ७३ लाख ७२ हजारको अख्तियारी प्राप्त भएको थियो । उक्त बजेटमध्ये ३ करोड ५७ लाख ७३ हजार १६ रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।
सुदूरपश्चिर प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु तथा पूजिगत तर्फ ३ करोड ७१ लाख ६७ हजार बजेट प्राप्त भएको थियो । प्रदेशबाट प्राप्त बजेटमध्ये २ करोड ८३ लाख १३ हजार ७ सय ६ रुपैयाँ खर्च भएको छ ।
संघीय सरकारबाट प्राप्त बजेटमध्ये ७४ लाख ५९ हजार ३ सय १० रुपैयाँ खर्च भएको छ । यस्तै डिभिजन वन कार्यालयले वर्षभरीमा ५ लाख २२ हजार ५० रुपैयाँ राजस्व आम्दानी गरेको छ ।
एक वर्षको अवधिमा दार्चुलामा ४० हजार क्युफिट काठ आयात गरिएको छ । गत आर्थिक वर्षभरीमा निजी र जिल्ला बाहिरबाट ४० हजार क्युफिट काठ आयात गरिएको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लाभरी ५० हजार क्युफिट माग भएकोले जिल्लामा उपलब्ध बाहेकको काठ निजी र जिल्ला बाहिरबाट आयात गरिएको डिभिजनल वन अधिकृत रिजालले बताएका छन् । सामुदायिक वन क्षेत्रबाट १० हजार क्युफिट काठ उपलब्ध भएको छ भने माग अनुसार बाँकी काठ निजी वन क्षेत्रबाट र जिल्लाबाहिरबाट काठ आयात गरिएको हो । साविकको २० गाविस कार्यक्षेत्र रहेको वन क्षेत्रभित्र १ सय ७० ओटा सामुदायिक वनहरु रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !