डिभिजन वनमा २९ कर्मचारीको दरबन्दी

3472

दार्चुला, भदौ १३ गते ।
सात नम्बर प्रदेश सरकारले दार्चुलास्थित डिभिजन वन कार्यालयमा २९ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ । राजपत्रांकित द्वितीय श्रेणीका प्राविधिक कर्मचारी डिभिजन वन अधिकृत हुनेछन् । डिभिजनको नेतृत्व डिभिजन वन अधिकृतले गर्नेछन् ।
साविकको जिल्ला वन कार्यालयअन्तर्गत झण्डै चार दर्जन कर्मचारी रहे पनि डिभिजनको नयाँ संरचनामा कर्मचारी संख्या घटेको छ । डिभिजन वन कार्यालय दार्चुलाको दरबन्दी तेरिजअनुसार दुइजना प्रशासन समूहका कर्मचारीसहित २९ कर्मचारी दरबन्दी रहेको खरिदार सुधीर साहले बताउनुभयो ।
चारजना सहायक वन अधिकृतको दरबन्दी स्वीकृत गरिएको छ । हाल जिल्लामा ६ जना सहायक वन अधिकृत कार्यरत छन् । नयाँ संरचनामा एकजना रेन्जरको दरबन्दी रहेकोमा हालसम्म ३ जना रेन्जर जिल्लामा कार्यरत रहेका छन् ।
डिभिजन वनमा नायव सुब्बा, खरिदार र लेखापाल एक÷एक जनाको दरबन्दी छ । फरेस्टर २ जना र वनरक्षक ९ जनाको दरबन्दी स्वीकृत भएको छ । जबकी दार्चुलाभरी अहिले ६ जना फरेस्टर र २१ जना वनरक्षक कार्यरत छन् । कार्यालय सहयोगी २ जना र हलुवा सवारी चालक एकजनाको दरबन्दी छ ।
सशस्त्र वनरक्षक ४ जना र सशस्त्र वनरक्षक हवल्दार एकजना डिभिजन वनमा रहनेछन् । एकजना चौकिदार पनि नयाँ संगठन संरचनामा राखिएका छन् । जिल्ला वन कार्यालयको हालसम्मको संरचनाभन्दा डिभिजनको संरचनामा कर्मचारी दरबन्दी कम छ । दरबन्दीभन्दा बाहेकका कर्मचारीको व्यवस्थापन कसरी हुन्छ भन्ने विषय टुंगो नलागेको डिभिजन वन कार्यालय दार्चुलाका सहायक वन अधिकृत अमरसिह धामीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !