टिंकर सडकलाई सरकारको उपेक्षा

0
547

दार्चुला, भदौ १३ गते ।
दार्चुला सदरमुकामदेखि महाकाली किनारैकिनार त्रिदेशीय सीमाक्षेत्र रहेको व्यास जोड्ने दार्चुला–टिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइए पनि बजेट विनियोजनमा उपेक्षा गरिएको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ कोठधारदेखि नेपाल–चीनको सीमास्तम्भ रहेको टिंकर भञ्ज्याङसम्मको ७५ किलोमिटर लामो सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइयो । तर टिंकर सडक निर्माणलाई नयाँ बजेटले उपेक्षा गरेको छ ।
सरकारले जेठ १५ गते संसदमा प्रस्तुत गरेर हाल पारित समेत गरिसकेको बजेटमा नेपाली सेनामार्फत निर्माण भइरहेको दार्चुला–टिंकर सडकमा न्युन बजेट राखिएको छ । आर्थिक वर्ष २०७७÷७८ को अन्तिमदेखि सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको थियो । उक्त वर्ष साढे ६ करोड बजेट खर्च गरेर सेनाले व्यास गाउँपालिकाको वडा नम्बर ४ सुन्सेरा र वडा नम्बर २ राप्लाको दुम्लिङमा क्याम्प स्थापना गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा सेनालाई सडक निर्माण गर्न १४ करोड ५० लाख बजेट उपलब्ध छ । उक्त बजेटको अधिकांश हिस्सा दुई महिनाअघि नै खर्च भइरहेको सैनिक स्रोतले जनाएको छ ।
आर्थिक वर्ष २०७९÷८० को बजेटमा सरकारले सेनामार्फत निर्माण गरिने टिंकर सडकलाई साढे ९ करोड मात्रै बजेट विनियोजन गरेको छ । गत वर्षको तुलना ५ करोड अर्थात ३८ प्रतिशत न्युन बजेट टिंकर सडकलाई दिइएको छ । नेपाली सेनाले टिंकर सडक निर्माणका लागि नयाँ बजेटमा २५ करोड रुपैयाँ बजेट माग गरेको सैनिक स्रोतले बतायो । ‘तर सरकारले टिंकर सडकलाई महत्व दिएन, बजेट नै न्युन राखिदिएपछि कसरी सडक निर्माणले गति लिन्छ ?’ सडक निर्माणमा संलग्न सैनिक स्रोतको भनाई छ ।
चालु आर्थिक वर्षमा विनियोजित बजेट असार नलाग्दै सिद्धिएको थियो । सेनाले सडक निर्माणमा प्रयोग हुने स्काइभेटर, कम्प्रेसरलगायतका दर्जनौ मेसिन यो वर्ष खरिद गरेको छ । सडक निर्माणको जिम्मा पाएको व्यास गाउँपालिका वडा नम्बर ३ को तुषारपानीदेखि दुम्लिङसम्मको झण्डै ८ किलोमिटर खण्डमा सडक निर्माण कार्य गतवर्षदेखि भइरहेको छ ।
भिरालो र चट्टानी भूबनोट रहेको यसक्षेत्रमा मेसिन र मदजुरमार्फत सडक निर्माण भइरहेको छ । वैशाख दोस्रो हप्ता सेनाको हेलिकोप्टरमार्फत राप्लाको माल, दुम्लिङ, तुषारपानी र कोठधारमा मेसिनहरु ढुवानी गरिएका छन् । टिंकर सडक निर्माणका लागि वैशाख ८ देखि ११ गतेसम्म सेनाको हेलिकोप्टरमार्फत ३ वटा कम्प्रेसर मेसिन र २ वटा स्काइभेटर मेसिन सडक निर्माण साइटमा पुर्याइएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।
सडक निर्माणमा लक्ष्य बमोजिमको प्रगति हासिल गराउनको निमित्त नेपाली सेनालाई मल्टिपल एप्रोचबाट उपकरण व्यवस्थापन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयको गत वैशाख १६ को प्रेस नोटमा उल्लेख छ ।
नेपाल सरकारले २०७७ वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकबाट दार्चुला–टिंकर सडकअन्तर्गत व्यास गाउँपालिकाको वडा नम्बर २ कोठधारदेखि वडा नम्बर १ को टिंकर भञ्ज्याङसम्मको ८७ किलोमिटर लामो सडक निर्माण गर्न सेनालाई जिम्मेवारी दिइएको थियो । नेपाली सेनाले आर्थिक वर्ष २०७७÷७८ मा उक्त सडक खण्डको डिपिआर संसोधन गरेको थियो । संसोधित डिपिआरअनुसार प्रस्तावित सडकको लम्बाई ८७ किलोमिटरबाट घटाएर ७५ किलोमिटर बनाइएको छ । महाकाली नदीको किनारैकिनार सडक निर्माण गर्नेगरी सेनाले डिपिआर संसोधन गरेको जनाइएको छ ।
देउवा नेतृत्वको वर्तमान सरकारले गत माघ १७ गते व्यास गाउँपालिका वडा नम्बर ३ को तुषारपानीदेखि वडा नम्बर २ कोठधारसम्मको थप ४ किलोमिटर सडक निर्माणको जिम्मा पनि सेनालाई दिने निर्णय गरेको छ । निर्माण व्यवसायीबाट सडक निर्माणमा प्रगति नभएपछि ठेक्का सम्झौता रद्द गरी सेनालाई उक्त ४ किलोमिटर सडक निर्माणको जिम्मेवारी दिइएको हो ।
नेपाली सेनाले हाल तुषारपानीदेखि व्यास गाउँपालिका वडा नम्बर २ को दुम्लिङसम्म सडक निर्माण गरिरहेको छ । दुम्लिङभन्दा माथि व्यास गाउँपालिकाको वडा नम्बर १ को भूगोल पर्दछ । वडा नम्बर १ मा छाङरु र टिंकर दुइटा मात्रै वस्ती छन् । उच्च हिमपातका कारण ती दुबै वस्तीमा ६ महिना मात्रै स्थानीयको वसोवास हुनेगर्छ । दुम्लिङमा भने वर्षैभरी मानव बसोवास हुनेगर्छ ।
नेपाली सेनाले सडक निर्माणलाई गति दिन खोजे पनि सरकारले न्युन बजेट विनियोजन गरिदिदा टिंकर सडक निर्माणमा निराशा देखिएको व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो । ‘भारत र चीनको सीमाक्षेत्र जोडिएको व्यासमा सडक निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने हो तर चालु वर्षकोभन्दा बजेट नै घटाइएको खवर छ’ गाउँपालिका अध्यक्ष धामीले भन्नुभयो, ‘सरकारले नै टिंकर सडकलाई उपेक्षा गरेको हो भने हामी चुपलागेर बस्दैनौ, काठमाण्डौं गएर धर्ना दिन्छौ ।’