टिंकर सडकमा बजेट थप्न अर्थमन्त्रीसंग माग

0
241

दार्चुला, फागुन ३ गते ।
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर दार्चुला–टिंकर सडकमा बजेट थप्न माग गरेका छन् । बजेट अभावले नेपाली सेनामार्फत निर्माण भइरहेको टिंकर सडक निर्माण कार्य एक महिनादेखि बन्द रहेको छ । टिंकर सडकमा चालु आर्थिक वर्षमै थप बजेट व्यवस्थापन गरिदिन लिखित माग गरिएको छ ।
बुधवार पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले अर्थमन्त्री पौडेललाई भेटेर बजेट थप्न लिखित माग गरेको टोलीमा सहभागी पूर्वमन्त्रीका स्वकीय सचिव दौलत सिंह ठगुन्नाले बताउनुभयो । ‘दार्चुला–टिंकर सडकमा सेनाका लागि विनियोजित बजेट कम भई काम बन्द भएकोले चालु आवको लागि आवश्यक बजेट व्यवस्थापन गरिदिन’ अनुरोध गरिएको छ ।
‘अर्थमन्त्रीज्यूले टिंकर सडकमा बजेट व्यवस्थापनका लागि सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ’ पूर्वमन्त्री ठगुन्नाका स्वकीय सचिव ठगुन्नाले बताउनुभयो । ‘टिंकर सडक आफ्नो उच्च प्राथमिकतामा रहेको अर्थमन्त्रीज्यू स्वयंले बताउनुभएको छ’ उहाँले भन्नुभयो ।
स्वकीय सचिव ठगुन्नाका अनुसार आर्थिक वर्ष २०७८÷७९ को बजेटमा पनि आफुले टिंकर सडकसहितको महाकाली कोरिडोरलाई उच्च प्राथमिकता दिएर १ अर्ब ३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले स्मरण गरेका छन् ।
गत आर्थिक वर्षको बजेट निर्माण पनि तत्कालिन अर्थमन्त्रीको हैसियतमा पौडेलले नै गरेका थिए । व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर १ टिंकर भञ्ज्याङसम्मको ७८ किलोमिटर लामो सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ ।
टिंकर सडकमा बजेट थप्न माग भएलगत्तै अर्थमन्त्री पौडेलले अर्थ सचिव र बजेट महाशाखाका प्रमुखसंग यसबारे छलफल समेत गरेका छन् । ‘हाम्रो लिखित मागलाई तोक लगाएर प्रक्रिया अगाडि बढाइएको छ, आर्थिक संकटको अवस्था भए पनि टिंकर सडकलाई बजेट व्यवस्थापन हुने आश छ’ पूर्वमन्त्रीका स्वकीय सचिव ठगुन्नाले भन्नुभयो ।
गत आर्थिक वर्षमा तुषारपानीदेखि वडा नम्बर २ को दुम्लिङसम्मको ८ किलोमिटर ट्रयाक खोलिएको छ । गत आर्थिक वर्षमा सेनाले सडक निर्माणका लागि २० करोड रुपैयाँ बजेट पाएको थियो ।
चालु आर्थिक वर्षमा २ किलोमिटर नयाँ ट्रयाक खोल्ने लक्ष्य राखिएकोमा हालसम्म १४ सय मिटर सडक निर्माण भइसकेको नेपाली सेनाले जनाएको छ । सेनाले चालु वर्षका लागि २५ करोड रुपैयाँ बजेट माग गरे पनि सरकारले ९ करोड मात्र उपलब्त्र गराउदा सडक निर्माणको लक्ष्य खुम्चिएको छ ।
पुष २६ गतेदेखि टिंकर सडकको निर्माण कार्य बन्द रहेको छ भने सडक निर्माणस्थलबाट कामदार घर फर्किएका छन् । टिंकर सडकमा विस्फोटक पदार्थ र पेट्रोलियम पदार्थ समेत सकिएको छ । सेनाले उधारोमा सडक निर्माण कार्य नगराउने भएकाले हाल सडक निर्माण कार्य बन्द रहेको व्यास गाउँपालिका वडा नम्बर २ कोठधारका स्थानीय नाइके मोहनलाल धामीले बताउनुभयो ।