टिंकर सडकको ट्रयाक तीन वर्षभित्र खोलिसक्न प्रधानमन्त्रीलाई ज्ञापन

0
279

दार्चुला, भदौ १७ गते ।
नेपाली सेनामार्फत निर्माण भइरहेको टिंकर सडकको ट्रयाक तीन वर्षभित्र खोलिसक्ने गरी निर्माण कार्य गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइएको छ । व्यास गाउँपालिका र सीमाक्षेत्रका जनताको तर्फबाट गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले विहिवार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल सरकार (मन्त्रिपरिषद्)को २०७७ वैशाख १४ गतेको निर्णयअनुसार दार्चुला–टिंकर सडक आयोजनाको कोठेधार–टिंकर सडक ८७ कि.मि. सडक खण्ड निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरिएको थियो । सेनाले प्रस्तावित सडक खण्डको विस्तृत योजना प्रतिवेदन (डिपिआर) संसोधन गरेर निर्माण कार्य समेत थालिसकेको छ ।
संसोधित डिपिआर अनुसार व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर १ को टिंकर भञ्ज्याङसम्म प्रस्तावित सडकको दूरी ७८ किलोमिटर छ । सडक निर्माणमा गत आर्थिक वर्ष २०७८÷७९ मा सन्तोषजनक उपलब्धि भए पनि चालु वर्षमा न्युन बजेट राखिएको छ । गतवर्षको भन्दा ४० प्रतिशत बजेट घटाइएपछि टिंकर सडक निर्माण सुस्ताएको गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो ।
सरकारले गतवर्ष टिंकर सडक निर्माणका लागि नेपाली सेनालाई १५ करोड ८० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । गतवर्ष निर्धारित लक्ष्य (७ कि.मि.) भन्दा झण्डै डेढ किलोमिटर बढी अर्थात ८.४ कि.मि. सडकको ट्रयाक खोल्ने कार्य समेत सम्पन्न भएको छ ।
चालु आर्थिक वर्ष २०७९÷८० मा भने टिंकर सडक खण्डको निर्माणका लागि २५ करोड बजेट सेनाबाट प्रस्तावित गरिएकोमा नेपाल सरकारले ९ करोड ५० लाख ३० हजार रुपैयाँ मात्रै बजेट उपलब्ध गराएको छ । न्युन बजेट दिइदा त्रिदेशीय सीमाक्षेत्र भएर पवित्र कैलाश–मानसरोवरको प्रवेशद्वार (टिंकर भञ्ज्याङ) सम्मको सडक निर्माण कार्यले द्रुतगति लिने अवस्था नरहेको ज्ञापनपत्रमा उल्लेख छ ।
धार्मिक, पर्यटकीय, व्यापारिक र सीमाक्षेत्रको महत्व बोकेको टिंकर सडक निर्माणका लागि तत्काल तीनवटा मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीसंग माग गरिएको छ । सेनाबाट निर्माण भइरहेको टिंकर सडक खण्डको सम्पूर्ण ट्रयाक ३ वर्षभित्र खोलिसक्ने कार्ययोजनासहित निर्माण कार्यलाई द्रुतगतिमा सञ्चालन गर्न पहिलो माग गरिएको छ ।
तीन वर्षभित्रै टिंकर सडकको ट्रयाक खोलिसक्ने गरी निर्माण कार्य गर्नका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न र चालु आ.व.मा उपलब्ध गराइएको बजेट अत्यन्त न्युन रहेकोले पर्याप्त बजेट व्यवस्थापन गर्न दोस्रो माग गरिएको छ ।
व्यास गाउँपालिका वडा नम्बर १ छाङरुको सुतलामा सेनाको क्याम्प स्थापनाको गृहकार्य गरिएकोमा हालसम्म क्याम्प स्थापना हुन सकेको छैन । बजेट अभावकै कारण क्याम्प स्थापना हुन नसकेको जानकारी भन्दै तत्काल छाङरुमा क्याम्प स्थापना गरी सडक निर्माणलाई गति लिन तेस्रो माग गरिएको छ । छाङरुमा क्याम्प स्थापनापछि छाङरुदेखि टिंकरतर्फ र छाङरुदेखि बुँदीतर्फ (दुबैतर्फ)को सडक निर्माण सुरु गरिने आश र आवश्यकता रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा उल्लेखित तिनवटै मागहरु तत्काल सम्बोधन गरी सीमाक्षेत्रका नागरिक र भूगोलप्रति न्याय गर्न आग्रह गरिएको छ । मागहरु सम्बोधन नगरिए जनताको आवश्यकता र आवाज आक्रोसमा व्यक्त हुने चेतावनी समेत दिइएको छ । सीमाक्षेत्र र सीमाक्षेत्रका जनताका जायज मागहरु सम्बोधन गराउन संघर्षका कडा कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकार र सीमाक्षेत्रका जनता बाध्य हुने जानकारी समेत गराइएको छ ।
ज्ञापनपत्र बुझ्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सीमाक्षेत्र र गाउँपालिकाले उठाएको विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्काल पठाइने बताउनुभयो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा व्यास गाउँपालिकाका प्रवक्ता उपेन्द्र सिंह धामी, कार्यपालिका सदस्यहरु असपाल सिंह बुढाथोकी, वीर सिंह धामी, राजेन्द्र सिंह कुवर, पूर्णिमा बुढाथोकी, धाना बमलगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।