`टिंकर नाका खोल्न आफै पहल गर्छु’ –प्रधानमन्त्री

345

दार्चुला, चैत्र १८ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको टिंकर नाका खोल्न आफैले पहल गर्ने बताउनुभएको छ । दार्चुलाको प्रतिनिधिमण्डलसंगको भेटघाटमा प्रधामन्त्री प्रचण्डले चीनसंगको नाका खुलाउन उच्चस्तरमा आफुले पहल गर्ने बताएका हुन् ।
टिंकर नाका सञ्चालनको मागसहित काठमाण्डौं पुगेको टोलीले शनिवार दिउसो प्रधानमन्त्री प्रचण्डसंग भेटघाट गरेको छ । दार्चुलाको सीमाक्षेत्रका मागबारे प्रधानमन्त्रीलाई मौखिक र लिखित रुपमा जानकारी गराइएको व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो । ‘हाम्रा मागबारे प्रधानमन्त्री गम्भीर देखिनुभएको छ, आफैले पहल गरेर टिंकर नाका खुलाउने र दार्चुला–टिंकर सडकमा बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता गर्नुभएको छ’ उहाँले भन्नुभयो ।
मार्मा गाउँपालिका अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता जमन सिंह धामीको पहल र समन्वयमा दार्चुलाको टोलीले प्रधानमन्त्रीसंग भेटघाट गरेको हो । व्यास गाँउपालिका अध्यक्ष मंगल सिंह धामीले व्यास क्षेत्रका लागि ३ बुँदे मागपत्र प्रधानमन्त्री पढेर सुनाउनुभएको भेटघाटमा सहभागी व्यासका स्थानीय विमलकुमार बोहराले बताउनुभयो ।
नेकपा एमालेका नेता एवं प्रदेशसभाका पूर्व सदस्य गेल्बु सिंह बोहराले `व्यासक्षेत्रका जनताले भारतको बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यता रहिआएकोबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको´ अर्का सहभागी योगेश सिंह बोहराले बताउनुभयो । ‘नेपालतर्फ पैदल बाटो समेत नरहेको अवस्थाबारे समेत प्रधानमन्त्री ज्यूलाई जानकारी गराइएको छ, उहाँले ध्यानपूर्वक सुन्नुभयो’ बोहराको भनाई छ ।
दार्चुला–टिंकर सडकमा बजेट अभाव भएको सन्दर्भमा प्रधानमन्त्रीले यसबारे आफुले अर्थ मन्त्रालय र सम्बन्धित निकायमा बुझेर निर्णय लिने बताएका छन् । शनिवार विहान १० बजे वालुवाटार पुगेको दार्चुलाको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेट्न झण्डै दुइ घण्टा कुर्नुपरेको एक सहभागीले बताउनुभयो ।
‘प्रधानमन्त्रीको व्यस्तता धेरै थियो, तर पनि हामीलाई समय दिनुभयो’ व्यास गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवरले भन्नुभयो । ‘हामीले आफ्ना मागबारे जानकारी गरायौंं, अब सम्बोधन गर्ने जिम्मेवारी सरकारको हो, हामी आशावादी छौं, प्रधानमन्त्री ज्यूको प्रतिक्रियाले उत्साहित बनाएको छ’ उहाँले भन्नुभयो ।
वालुवाटारमा धेरै पक्षसंगको भेटघाट र छलफलमा व्यस्त रहेका प्रधानमन्त्रीले दार्चुलाको टोलीसंग केही जिज्ञासा पनि राखेका छन् । ‘टिंकर सडक बन्न कति बाँकी छ’ भन्ने जिज्ञासा प्रधानमन्त्रीले आफुहरुसंग राखेको छलफलमा सहभागी व्यासका स्थानीय योगेश सिंह बोहराले बताउनुभयो
‘तपाईहरुले धेरै कुर्नुपर्यो कि’ भन्दै प्रधानमन्त्री प्रचण्डले ‘सबैजना दार्चुलाबाटै आउनुभएको हो कि काठमाण्डौंमै हुनुहुन्थ्यो’ भन्ने जिज्ञासा पनि राख्नुभएको अर्का सहभागी विमल कुमार बोहराले बताउनुभयो । ‘दार्चुलाबाट ठूलै टोली आउनुभएको रहेछ’ भन्दै भेटघाटको सुरुमा प्रधानमन्त्री प्रचण्डले ‘बडूजी आउनुभएन’ भनेर पनि सोधेका थिए ।
नेपाल–चीन जोड्ने टिंकर नाका सञ्चालनका लागि आफुहरुले तीन दिनपूर्व काठमाण्डौंमा चीनिया राजदूतसंग भेटेर छलफल गरेको जानकारी पनि दार्चुलाको टोलीले प्रधानमन्त्रीलाई दिएको छ । प्रधानमन्त्रीले यसबारे आफुले नै उच्चस्तरमा पहल गर्ने बताएका छन् ।
व्यास गाउँपालिका र सिमाक्षेत्रका विषयमा डेलिगेशन भए पनि दार्चुलाका अन्य पालिका जनप्रतिनिधिहरु पनि भेटघाटमा सहभागी थिए । भेटघाटका लागि समन्वय गर्ने मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीलगायतका जनप्रतिनिधिहरु पनि भेटघाटमा सहभागी थिए । छलफलपछि दार्चुलाको टोलीले प्रधानमन्त्री प्रचण्डसंग सामूहिक तस्वीर पनि खिचाएको थियो ।
काठमाण्डौं पुगेको व्यास गाउँपालिकाको टोलीले सोमबारसम्ममा भारतीय राजदूतसंग पनि भेटघाट गर्ने तयारी छ । महाकालीमा झोलुंगे पुल निर्माणलगायतका केही महत्वपूर्ण मागहरुबारे भारतीय दूतावासमा भेटघाटको प्रयास भइरहेको गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो ।
नेपाली काग्रेसका नेता एवं दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूको समन्वय र नेतृत्वमा भारतीय दूतावासमा भेटघाट र छलफलको पहल भइरहेको छ । यसअघि चैत्र १५ गते एमाले नेता एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको समन्वय र नेतृत्वमा चीनिया दूतावासमा छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !