टावर सुचारुका लागि टेलिकमको टोली छाङरुतर्फ

0
551
फाईल फोटोः छाङरुमा रहेको स्काई टावर र नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङ

दार्चुला, बैशाख २१ गते । 


व्यास गाउँपालिका वडा नं १ छाङरुमा रहेको नेपाल टेलिकमको स्काई टावर सञ्चालनका लागि नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङ सहितको टोली छाङरु तर्फ गएको छ । मंगलबार कार्यालय प्रमुख गुङरु सहितको टोली भारतको बाटो भएर छाङरु तर्फ गएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । छाङरुको सर्चिकोटमा हिउँदमा भारी हिमपात हुने भएकाले प्रत्येक वर्ष टावर मर्मत गर्नुपर्छ ।

स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै व्यास गाउँपालिकाको वडा नं १ छाङरुमा स्काई फोन सेवा सञ्चालनमा ल्याउन लागिएको छ । नेपाल टेलिकमको स्काई फोन सेवा सन् २०२२ बाट देशैभर फेजआउट गरिएको भएपनि निर्वाचनलाई मध्यनजर गर्दै छाङरुको सर्चिकोटमा रहेको स्काई फोन सेवा सञ्चालनमा ल्याइने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले बताएका छन् ।
छाङरुमा नमस्ते फोनसेवाको टावर निर्माण गरिएको छ तर विभिन्न प्राविधिक समस्याले सञ्चालनमा आउन सकेको छैन । छाङरुमा टावर सञ्चालनमा ल्याउनका लागि व्यास गाउँपालिकाको वडा नं ४ कैचुलामा रहेको टावरलाई ब्रह्मलेकमा सारिएको छ । ब्रह्मलेकबाट छाङरु देखिने भएकाले डिभाइस जडानका लागि ब्रह्मलेकमा रिपिटर स्टेसन राखिएको टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले बताउनुभयो । छाङरुको ज्याक्ती डाडामा टेलिकमको नयाँ रिपिटर स्टेशन राखी छाङरु गाउँमा रहेको नमस्ते फोन सेवाको फोरजी सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । छाङरुको ज्याक्तिमा नयाँ रिपिटर स्टेसन राख्ने काम स्थानीय तह निर्वाचन सम्पन्न भएपछि सुरु गरिने छ ।