ज्यानमारा तुईन विरुद्ध आशुको उजुरी

0
1411

दिपक खाती

एकाबिहानै कराइरहेछ एक अधबैंसे
र भनिरहेछ
जसले महाकालीलाई तरवार बनाई
कैयौं आमाको कोख रित्यायो
कयौं दिदीबहिनीको सिउदो पुछ्यो
कैयौं लालाबाला टुहुरा बनायो
उ त्यही ज्यानमारा तुईन हो !

यो हिटलरभन्दा कम छैन
लादेन भन्दा कम छैन
त्यसैले यसलाई जेलको
चिसो हावा खुवाउ
यसलाई जेल हाल्न
गिरफ्तार गर्न प्रमाण चाहिन्छ भने
सोध दार्चुलाका ब्यासवासी जनतालाई
सोध जयसिहका कलिला मुनाहरुलाई
यसले कति निमुखाको ज्यान लिएको छ
कसैको छोरा मार्यो,कसैको श्रीमान
कैयौं दिदीबहिनीको सिन्दुर पुछ्यो
यही हो ज्यानमारा तुईन

आजै हो सपना बोकी लाहुर
हिडेको जयसिह तुईन बाट वेपत्ता भएको
अस्ति मात्रै यसले एक स्कुले बालिका मार्यो
दस बर्षअघि
एक ईन्जिनियरको ज्यान लियो
कहिले दाईलाई,कहिले भाईलाई
यो मान्छे निल्न पल्केको छ

यो तुईन हत्यारा मात्रै हो र !
कानुनका दफा/उपदफा सबैलाई कुल्चेर
ब्यापार गर्ने ब्यापारी हो
उपराध गर्ने उपराधी हो
यो तस्कर हो
यो देश द्रोही हो
सबै जनाले नियालेर हेर
म यो कविता लेखिरहेको छैन
लेखिरहेको छु केवल
सबै अदालतमा पठाउन ज्यानमारा तुईन विरुद्ध
आसुले लेखेको उजुरी !