जोलजिवी पुल रातीसम्म सञ्चालनमा

0
2304

दार्चुला, मंसिर ३ गते ।
महाकाली र गोरीगंगा नदीको संगम जोलजिवीमा नेपाल र भारत दुबैतर्फ मेला महोत्सव सञ्चालन भइरहदा दुई देश जोड्ने झोलुंगे पुल रातीसम्म सञ्चालन भइरहेको छ । दुई देशका अधिकारीबीचको समन्वयमा रातीसम्म पुल खुला राखिएको हो ।
मंसिर २८ गते भारततर्फको जोलजिवी मेला सुरु भएको थियो । भारतीय पक्षको अनुरोधमा मंसिर २८ देखि नै जोलजिवी पुल राती १०ः४५ बजेसम्म खोलिदैआएको दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताउनुभयो ।
सामान्य अवस्थामा विहान ६ः४५ पुल खुल्ने गर्छ । बेलुका ६ः१५ बजे पुल बन्द हुने समयतालिका रहेकोमा मेला महोत्सव अवधिमा थप ४ घण्टा पुल खुला गरिएको प्रहरी चौकीका जोलजिवीका असई हरिप्रसाद पन्तले बताउनुभयो ।
भारततर्फ रातीको समय सांस्कृतिक प्रस्तुति हुने भएकाले पुल खुल्ने समय बढाइएको स्थानीय व्यापारी प्रकाशसिह धामीले बताउनुभयो । दिउसो नेपालतर्फको सांगितिक प्रस्तुति हुने गर्दछ भने रातीको समय भारततर्फको सांस्कृतिक प्रस्तुति भइरहेको उहाँको भनाई छ ।
मेला अवधिमा भारततर्फको सांस्कृतिक प्रस्तुति हेर्न नेपालतर्फका करिब एक सयजनाले झोलुंगेपुल आवतजावत गर्नेगरेको असई पन्तले बताउनुभयो ।