जिल्ला अस्पताल दार्चुलामा दरबन्दी अनुसार चिकित्सक नहुँदा उपचारमा सास्ती

0
351

दार्चुला,पुष १७ गते ।
जिल्ला अस्पताल दार्चुलामा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा समस्या भएको हो । जिल्ला अस्पतालमा एक जना मेडिकल सुपरिटेन्डेण्ट दुई जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा एक जनाको दरबन्दी खाली रहेको अस्पतालले जनाएको छ । अस्पतालमा छात्रबृति करारका तिन जना मेडिकल अधिकृत कार्यरत रहेका छन् । अस्पतालमा गएको भाद्र देखि प्रशासन शाखा समेत निमित्तका भरमा चलिरहेको पाइएको छ । प्रशासन शाखा प्रमुख आनसिंह डागाको महेन्द्रनगर सरुवा भएपछि अहिले धनन्जय मिश्रलाई निमित्त प्रशासन शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । अहिले अस्पतालमा ३ जना स्टाफ नर्सको दरबन्दीमा ३ जना नै कार्यरत रहेको जिल्ला अस्पताल दार्चुलाका डाक्टर आर्दश लिम्बुले जानकारी दिनुभयो । अस्पतालमा हेथ्य असिस्टेन्ट १ जनाको दरबन्दी रहेकोमा रिक्त रहेको छ । दुई जना अहेबको दरवन्दी रहेको अस्पतालमा दुई जनानै रिक्त रहेको छन् । अनमी दुई जना कार्यरत रहेका छन । अस्पतालमा अझै रेडियोग्राफर एक जना ल्याब असिस्टेन्ट एक जनाको दरबन्दी समेत खाली रहेको छ । अस्पतालमा प्रदेश लोक सेवा आयोगले समयमै विज्ञापन खोल्न नसक्दा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त भएको अस्पताल प्रशासनले जनाएको छ । सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयबाट विशेषज्ञ डाक्टर पठाउने बताए पनि हाल सम्म बजेट विनीयोजन नगरिएको अस्पताल प्रशासनका निमित्त प्रमुख धनन्जय मिश्रले जानकारी दिनुभयो । अस्पतालमा लक्षित वर्गलाई निशुल्क उपचारको व्यवस्था गरिएको भए पनि जनशक्ति अभावले दैनिक कार्य संञ्चालनमा समस्या भइरहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । अस्पतालमा केही दिन पछि छात्रबृति करारमा आएका आर्दश लिम्बुको समेत पौष २७ गते छात्रबृति करार सम्झौता सकिने भएपछि अस्पतालमा थप समस्या सिर्जना हुनसक्ने अस्पतालको प्रशासन शाखाले जनाएको छ । जिल्ला अस्पतालमा कार्यरत रहेका चिकित्सकहरु समेत छात्रवृत्ति अध्ययन विदामा जाँदा समस्या हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।