जिल्ला अस्पताल दार्चुलामा इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा स्थगित 

0
507

दार्चुला, माघ ९ गते । 

स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल दार्चुलाले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवाहरु स्थगित गरेको छ । 

जिल्ला अस्पताल दार्चुलामा कार्यरत ३ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट अर्काे सूचना जारी नभएसम्मका लागि इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा स्थगित गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर आर्दश लिम्बुले जानकारी दिनुभयो । 

जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि आइसोलेसनमा राख्नुपर्ने बिरामीहरूलाई मध्यनजर गर्दै इमर्जेन्सी बाहेकको स्वास्थ्य सेवा स्थगित गरिएको उहाँले बताउनुभयो । २ जना कोरोना संक्रमित बिरामीको जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । 

‘कोरोना सङ्क्रमितहरूको आइसोलेसन र ओपीडी सेवा परिसर नजिकै रहेकाले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरिएको हो, एक हप्ता सम्म यो अवस्था हुन सक्छ’ डा लिम्बुले भन्नुभयो ।