जिल्ला अस्पतालमा १० आइसोलेशन वार्डको संरचना बनाइने

0
881

दार्चुला, असार १६ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा छुट्टै आइसोलेशन वार्डको संरचना निर्माण गर्ने भएको छ । जिल्ला अस्पतालमार्फत निर्माण गरिने आइसोलेशन वार्डमा १० वेड राखिने लक्ष्य छ ।
नयाँ आर्थिक वर्षको प्रारम्भदेखि नै संरचना निर्माणको थालनी हुने जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा. गजेन्द्र दुवालले बताउनुभयो । ‘जिल्ला अस्पताल परिसरभित्रै छुट्टै आइसोलेशन वार्डको भवन बनाइनेछ’ उहाँले भन्नुभयो ।
सुदूरपश्चिमका सबै जिल्ला अस्पतालमा छुट्टै आइसोलेशन वार्ड निर्माण गर्न प्रदेश सरकारले बजेट दिन लागेको छ । आइसोलेशन वार्डको संरचना बनाउन ४० देखि ५० लाख रुपैयाँ बजेट प्राप्त हुने डा. दुवालले जानकारी दिनुभयो । ‘आइसोलेशन वार्डको संरचना निर्माणको प्राविधिक तयारी भइरहेको छ, अख्तियारी प्राप्त भएपछि निर्माण प्रक्रिया अगाडि बढाउछौ’ उहाँले भन्नुभयो ।
तत्काल कोरोना संक्रमणलाई लक्षित गरी छुट्टै आइसोलेशन वार्ड बनाउन लागिएको हो । अन्य समयमा पनि प्रयोग हुने गरी स्थायी संरचना निर्माण गरिने जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजितसिंह धामीले बताउनुभयो । ‘संरचना निर्माणका लागि जग्गा अभाव छ तर उपलब्ध रहेको जमिनमै संरचना खडा गर्नुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ।
आइसोलेशन वार्डको संरचना निर्माण गरी तत्काल प्रयोगमा ल्याउने उद्देश्य छ । भवन निर्माणका साथै आवश्यक सामग्री र उपकरण पनि व्यवस्थापन गरिनेछ । जिल्ला अस्पतालबाट आइसोलेशन वार्ड निर्माणको लागतअनुमान प्रदेश सरकारमा पेश भइसकेको डा. गजेन्द्र दुवालले बताउनुभयो ।
कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि हाल जिल्ला अस्पतालमा १३ वटा आइसोलेशन वेड राखिएका छन् । जिल्ला अस्पतालमा उपलब्ध भवन र सामग्रीबाट आइसोलेशन वेड तयार गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष दलजितसिंह धामीले बताउनुभयो ।
जिल्ला अस्पतालले हाल एउटा छुट्टै भवनका ३ कोठमा १३ आइसोलेशन वेड तयार गरेको छ । हालसम्म ३ जना कोरोना संक्रमितहरुको उपचार आइसोलेशनमा राखेर गरिएको छ । तिनैजना उपचारपछि घर फर्किएको जिल्ला अस्पतालले जनाएको छ ।
प्रदेश सरकारको बजेटले नयाँ आइसोलेशन वार्डको संरचना निर्माण गरिएपछि जिल्ला अस्पतालको नियमित उपचार सेवामा थप सहजता आउने डा. गजेन्द्र दुबावको भनाई छ ।