जयसिंह धामीकी श्रीमती राजन्ती भन्छिन्- सरकारले दिएको राहत ऋण तिर्नमै सकियो, रोजगारी दिए हुन्थ्यो

0
699

दार्चुला, चैत्र १ गते ।

दार्चुलाको व्यास गाउँपालिका-२ माल घर भएकी राजन्ती धामीको जीवनमा १५ साउन २०७८ कहिल्यै नबिर्सिने घटना हो । परिवारमा लागेको ऋण तिर्न भनेर विदेश हिँडेका श्रीमान जयसिंह धामीलाई विदा गरेको केही घण्टा बित्न नपाउँदै महाकाली नदीमा खसालेको भन्ने सुन्दा उनको होस नै उड्यो । मालगाउँबाट दार्चुला सदरमुकाम पुग्न एक दिनभरि हिँड्नपुर्छ । तर, महाकाली नदीमाथि लगाइएको फलामे तुइनमा झुण्डिएर महाकाली नदी पार गर्न सके भारतको बाटो भएर एक घण्टामै गाडीको यात्रा गरि सदरमुकाम पुग्न सकिन्छ ।

स्थानीयले नदीमा झुण्डेर तर्नुलाई घाट तर्नु भन्छन् । दार्चुलाका गाउँमा एउटा प्रचलित उखान छ- घडीकी घाट वर्ष दिनको बाटो । यसको अर्थ हुन्छ बरु वर्ष दिन लाग्ने बाटो हिँड्न परे हिँड्नु, तर जोखिमपूर्ण तुइन नतर्नू । तर, महाकाली पारी भारतले बनाएका चिल्ला सडक देख्दा नेपालको बाटो एक दिनभरि हिँड्न व्यासका बासिन्दाको मनले मान्दैन । सायद जयसिहको मनले पनि मानेन होला, किनकि यस क्षेत्रका बासिन्दालाई तुइन तर्नु नौलो कुरा छैन ।

गत १५ साउनमा भारतीय एसएसबीले महाकाली नदीमा तरिरहेका बेला तुइन काटेर जयसिंह धामी महाकाली नदीमा खसेका थिए । विदेश जान हिँडेका श्रीमान नदीमा खसेको खबर आएपछि राजन्तीले हप्तौँसम्म आफूलाई सम्हाल्न सकिनन् । पहिलो पटक विदेश जाँदा लागेको ६/७ लाख ऋण तिर्नका लागि जयसिह दोस्रोपटक विदेश जाँदै थिए । तर, त्यस घटनाले उनको सबै सपना उनीसँगै महाकालीमा बग्याे ।

जयसिंह र राजन्ती दम्पतीका एक छोरा र एक छोरी छन् । छोरा सात वर्षका भए भने छोरी दुई वर्षकी मात्र छिन् । दुई छोराछोरी हुर्काउने जिम्मा आफ्नै काधमा आएपछि राजन्तीलाई अहिले के गर्ने कसो गर्ने भएको छ । ‘खान लाउन समेत समस्या छ, गाउँमा जग्गा पनि छैन, के गरेर खाने समस्यामा छु ।  सरकारले सानै भए पनि केही रोजगारी दिए हुनेथियो,’ उनले कालापानी न्युज डटकमसंग भनिन् ।

घटनापछि सरकारले जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । सरकारले दिएको आर्थिक सहयोग ऋण तिर्नमै सकिएको राजन्तीले बताइन् । घटना भएको बेला भने जयसिंहको परिवारलाई आश्वासन धेरै ठाउँबाट प्राप्त भएको थियो । व्यास गाउँपालिकाले किरिया खर्च स्वरुप २५ हजार रकम तत्काल दिएको थियो भने बाँकी राहत पछि दिने बताएको थियो । तर, हालसम्म स्थानीय सरकारले कुनै रकम उपलब्ध नगराएको जयसिंहका भाइ नरेन्द्रसिंह धामीले बताए ।

जयसिंह धामीको घटना छानबिनका लागि गृह मन्त्रालयको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली उनको घरमै पुगेको थियो । टोलीले बालबालिकाको पढाइमा सहयोगका लागि सरकारलाई अनुरोध गर्ने आश्वासन दिएको थियो । घटनाका बेला पाइएका आश्वासन आश्वासनमै सीमित रहेको राजन्ती धामीको गुनासाे छ ।

शैक्षिक योग्यताले एसएलसी उत्तीर्ण गरेकी राजन्ती धामीले नेपाल प्रहरीको भान्सेको विज्ञापनमा फारम भरेकी छिन् । ‘अन्य केही सिप छैन । श्रीमान कमाउने छँदा उहाँमै परिवार निर्भर थियो । अब के गरेर खाने । बालबालिकाको पालन पोषणका लागि भए पनि प्रहरीको भान्सेमा समेत सरकारले जागीर दिए हुने थियो । नत्र कसरी बालबालिकाको पढाइ लेखाइ र घरखर्च चलाउँ,’ उनले भनिन् ।

घटनामा संलग्न भारतीय एसएसबीहरूलाई हालसम्म पनि कुनै कारवाही नभएको भन्दै न्याय पाउने आश मर्दै गएको उनको गुनासाे छ ।