जनस्वास्थ्यमा गम्भीर खेलवाड !

0
559

सम्पादकीय

कोभिड सङ्क्रमणको प्रभाव चरम सिमामा पुगेको छ । दैनिक मृत्युका घटनाहरु रोकिएका छैनन् भने नयाँ सङ्क्रमित फेला पर्न पनि छोडेका छैनन् ।

गत हप्ताभन्दा यो हप्ता केही कम मृत्यु र नयाँ सङ्क्रमित फेला परेका हुन् तर सङ्क्रमणको प्रभाव घटेको होइन । सङ्क्रमण बस्तिस्तरमा पुगेको पहिले नै विज्ञहरुले बताई सकेका छन् । पछिल्लो समय नागरिकमा सतर्कता बढेको र निरन्तरको निशेधाज्ञाले सङ्क्रमण पहिले जसरी फैलिन पाएको छैन तर कहीँ कतै यात्रा विवरण नभएको र प्रत्यक्ष रुपमा (थाहा पाउने गरी) कुनै सङ्क्रमितसँग नभेटेका व्यक्तिहरुको पनि सङ्क्रमणका कारण मृत्यु भएको छ । यस्तो हुनु भनेको सङ्क्रमण समुदाय स्तरमा फैलिएको प्रमाण हो । सङ्क्रमण समुदाय स्तरमा फैलिएपछि सामाजिक सम्पर्कलाई निरन्तरता दिने हो भने सङ्क्रमणका कयौं नयाँ मुद्दाहरु देखिन सक्ने थिए । स्वास्थ्यकर्मीहरुले गाउँ गाउँ गएर (सम्भवभएसम्म व्यक्ति व्यक्तिलाई भेटेर) यस्तो बेला अपनाउनु पर्ने सतर्कताहरुका वारेमा जानकारी दिने र होमआइसोलेसनमा बसेकाहरुलाई अरुसँग सम्बन्ध नराख्न गरिएको आग्रहले काम गर्दा सङ्क्रमणले समुदायमा फैलिएको जस्तो दुर्घटना हुन पाएको छैन तर थोरै पनि असावधानी हुने हो भने जुनसुकै बेला ठूलो संख्याले ज्याम गुमाउनु पर्ने अवस्था आउन सक्छ ।
जीवन नै जोखिममा परेका बेला जनस्वास्थ्यमा गम्भीर असर पर्ने कामहरु भएको पाइएको छ । कोभिसिल्डको पहिलो डोज लगाएका व्यक्तिहरुलाई दोस्रो डोज उपलब्ध भएको छैन । पहिलो डोज कोभिसिल्ड लगाएकाहरुलाई अर्को खोप लगाउन नमिल्ने चर्चा आइरहँदा एक मात्र डोज लगाएका व्यक्तिहरुको जीवन जोखिमयुक्त भएको छ । अझ गम्भीर कुरा त के भने पहिलो डोज कोभिसिल्ड लगाएर सङ्क्रमित भएकाहरुले ज्याम गुमाएका छन् । यसबाट पहिलो डोजले प्रतिरक्षा प्रणाली सुधार नगर्ने प्रष्ट हुन्छ । पहिलो डोजले काम नगर्ने, त्यस्ता व्यक्तिलाई अर्को भ्याक्सिन लगाउन नमिल्ने र कोभिसिल्ड भारतले नदिने भएपछि कोभिसिल्डको पहिलो डोज लगाएका हजारौं नेपालीहरुको ज्यान जोखिममा परेको छ ।
खोप व्यवस्थापनको कमजोरीका कारणले यस्तो स्थिति आएको भन्न कति पनि हिच्किनु पर्ने अवस्था छैन । पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोजको व्यवस्था किन गर्न नसकिएको हो ? भन्ने प्रश्न उठाइनु पर्दछ । भारतले खोप उपलब्ध नगराएको भनेर पच्छिने अवस्था होइन । हामीलाई प्राप्त खोपको उचित व्यवस्थापन (पहिलो डोज लगाएकाहरुलाई अनिवार्य अर्को डोज लगाउने व्यवस्था) भएको भए अहिले भारतले खोप नदिएकै कारण हजारौंको ज्यान जोखिममा पर्ने थिएन । अर्को खोप लगाउन मिल्ने भए त समस्या भएन कदाचित् त्यस्तो नमिल्ने हो भने यसको जिम्मेवारी कोले लिने ?