जनप्रतिनिधिहरुलाई भत्ता र सुविधाको प्रलोभन

2267

दार्चुला, पुष १ गते ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले मंसिर २७ देखि २९ गते भारतको पिथौरागढमा आयोजना गरेको सिमापार अनुभव आदानप्रदान कार्यक्रममा सहभागी हुन जनप्रतिनिधिहरुलाई भत्ता र सुविधाको प्रलोभन दिइएको तथ्य खुलेको छ ।
अपिनाम्पा संरक्षण क्षेत्रमा पर्ने स्थानीय तहका प्रमुखहरु र अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्षलाई भत्ता र सुविधा उपलब्ध गराउने व्यहोराको पत्र इसिमोडबाट गरिएको थियो । मंसिर १८ गतेको मितिमा लेखिएको पत्रमा कार्यक्रमका ‘सहभागीहरुलाई यातायात खर्च, होटेल, खाना र हाम्रो (इसिमोडको) नियमअनुसार भत्ता दिइने’ उल्लेख छ ।
इसिमोडका उप महानिर्देशक डा. एकलब्य शर्माले हस्ताक्षर गरिएको पत्र स्थानीय तह र अपिनाम्पा संरक्षण व्यवस्थापन परिषद्लाई इमेलमार्फत पठाइएको थियो । कार्यक्रममा सहभागिता बढाउन आयोजकले पत्रमै सुविधा र भत्ता दिइने विषय उल्लेख गरेको एक सहभागीको भनाई छ ।
‘दुई देशका प्रतिनिधि सहभागी हुने कार्यक्रम महत्वपूर्ण होला भनेर आफु सहभागी भएको’ कार्यक्रममा सहभागी एक स्थानीय तहका प्रमुखले बताउनुभयो । ‘मलाई लाग्छ म मात्रै होइन सबैजसो जनप्रतिनिधि भत्ताको लोभमा कार्यक्रममा सहभागी भएका होइनौ, वार्षिक ३० देखि ५० करोड बजेट सञ्चालन गर्ने व्यक्तिलाई भत्ताले आकर्षिक गर्यो भन्न मिल्दैन’ कार्यक्रममा सहभागीमध्ये एक गाउँपालिका अध्यक्षले भन्नुभयो ।
आयोजकले पत्रमा सुविधा र भत्ता दिइने भनेर उल्लेख गर्नु चाही गम्भीर गल्ती भएको उहाँको भनाई छ । ‘कार्यक्रम आयोजना गर्दा व्यवस्थापनको जिम्मा स्वाभाविक रुपमा आयोजककै हुन्छ तर पत्रमै सुविधा र भत्ता दिइनेछ भनेर उल्लेख गर्नु कदापि ठिक होइन’ पिथौरागढको कार्यक्रममा सहभागी अर्का स्थानीय तहका प्रमुखको भनाई छ ।
दुई देशका प्रतिनिधिबीच अनुभव आदानप्रदान भनिए पनि भारतका जनप्रतिनिधिहरुको सहभागिता नभएकोमा नेपालका जनप्रतिनिधिहरु आयोजकप्रति असन्तुष्ट छन् । ‘नेपालबाट स्थानीय सरकारका प्रमुखहरुको सहभागिता गराइयो तर भारतबाट एकजना वडा सदस्यको समेत उपस्थिति नदेखिदा कार्यक्रम खल्लो लाग्यो’ एकजना गाउँपालिका अध्यक्षको भनाई छ । ‘इसिमोडको पत्रको व्यहोरा र कार्यक्रममा भारतीय पक्षको सहभागिताले कार्यक्रमकै महत्व देखिएन’ अधिकांश नेपाली जनप्रतिनिधिहरुको प्रतिक्रिया छ ।
स्रोतका अनुसार इसिमोडले कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुलाई ४ दिनको भत्ता उपलब्ध गराएको छ । प्रतिदिन २० अमेरिकी डलरका दरले दैनिक भत्ता दिइएको स्रोतको भनाई छ । अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष चक्रसिह ह्याकीले भने आयोजकले आफुलाई १७ हजार रुपैयाँ उपलब्ध गराएको बताउनुभयो । ‘कार्यक्रम प्रभावकारी लागेन, धेरैले यसबारे असन्तुष्टि जनाएका छन्’ परिषद् अध्यक्ष ह्याकीले भन्नुभयो, ‘भारतीय पक्षबाट भएको न्युन र निराशाजनक सहभागिताले हामीलाई उत्साहित बनाएन ।’
धारचुलाबाट दुइटा गाडीमा नेपालका जनप्रतिनिधिहरु पिथौरागढ पुगेका थिए । स्रोतका अनुसार यातायात खर्चवाफत सामूहिक रुपमा प्रति गाडी २ हजार ५ सय भारु आयोजकले उपलब्ध गराएका छन् । कार्यक्रम अवधिभर आवाश र खानाको व्यवस्थापन आयोजकले नै गरेका थिए । सहभागीलाई पिथौरागढस्थित ज्योनार होटलमा वासको व्यवस्था गरिएको थियो भने पिथौरागढ नगरपालिकाको हलमा कार्यक्रम सञ्चालन गरिएको थियो । नगरपालिकाको हलमै नेपालका जनप्रतिनिधि सम्मिलित कार्यक्रम गरिए पनि पिथौरागढ नगरपालिका अध्यक्षलगायत कुनै पनि जनप्रतिनिधिहरुको सहभागिता थिएन । नगरपालिका वा अन्य कुनै जनप्रतिनिधिमूलक निकायका कर्मचारीको समेत इसिमोडको कार्यक्रममा सहभागिता थिएन ।
महिलाको स्थानमा पुरुषको सहभागिता
इसिमोडद्वारा पिथौरागढमा आयोजित सिमापार अनुभव आदानप्रदान कार्यक्रममा ६ वटै स्थानीय तह र अपिनाम्पा संरक्षण व्यवस्थापन परिषद्का प्रमुखसहित एक÷एक जना महिला सहभागी गराउन पत्राचार गरिएको थियो । तर अपिहिमाल गाउँपालिका बाहेकका सबैले महिलाको स्थानमा पुरुषको सहभागिता गराएका छन् ।
इसिमोडबाट गरिएको पत्राचारमा स्थानीय तहका प्रमुखसहित दुई जनाको सहभागिता मागिएको थियो । ‘अर्को व्यक्तिको मनोनयन गर्दा महिलालाई प्राथमिकता दिनुहोला’ पत्रमा उल्लेख गरिएको थियो । अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई गरिएको पत्राचारमा पनि यही व्यहोरा उल्लेख गरिएको स्रोतले बतायो ।
अपिहिमाल गाउँपालिकाले मात्रै अध्यक्षसंगै महिला जनप्रतिनिधिको सहभागिता गराएको स्रोतको भनाई छ । अपिहिमाल गाउँ कार्यपालिका सदस्य रुक्मति जागरी एकजना मात्रै महिला जनप्रतिनिधि सहभागी भएका थिए । नौगाड गाउँपालिकाबाट अध्यक्ष मात्रै सहभागी थिए भने व्यास, दुहुँ र मार्मा गाउँपालिका तथा महाकाली नगरपालिकाबाट स्थानीय सरकार प्रमुखसंग अर्का सहभागी सबै पुरुषहरु थिए ।
व्यास गाउँपालिकाबाट ५ नम्बर वडाअध्यक्ष मंगलसिह धामी र मार्मा गाउँपालिकाबाट ६ नम्बर वडाअध्यक्ष महादेवसिह डडाल सहभागी थिए । दुहुँ गाउँपालिकाबाट अध्यक्षसंग एकजना शिक्षक कार्यक्रममा सहभागी रहेको स्रोतले बतायो । ती व्यक्ति जनप्रतिनिधि नभए पनि अपिनाम्पा संरक्षण क्षेत्रअन्तर्गतको उपभोक्ता समितिमा संलग्न रहेको जानकारी दिइएको थियो । महाकाली नगरपालिकाबाट नगर प्रमुखसंग विपद व्यवस्थापन दस्ताका संयोजक भुवन जोशी सहभागी थिए ।
अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का तर्फबाट अध्यक्ष चक्रसिह ह्याकीसंग अर्का परिषद् सदस्य भक्तसिह ठेकरे सहभागी थिए । परिषद्लाई पनि महिला सहभागितालाई प्राथमिकता दिन भनिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !