जनगणना नरोकियोस्

0
632

सम्पादकीय ।
नेपालको जनणनाले पहिलो चोटि भारतलाई झस्काएको छ । सीमा क्षेत्रमा कडा निगरानी मात्रै राखेको छैन भारतीय बाटो भएर ब्याँस गाउँपालिकाको वडा नम्बर एक जान खोज्ने गणकलाई भारतको बाटो प्रयोग गर्न दिएको छैन ।

कालापानी क्षेत्रमा हुनु पर्ने जनगणनाको महत्त्व नेपालका नेता र कर्मचारीहरुलाई भन्दा पनि भारतीय पक्षलाई बढी छ । उसो त राष्ट्रियताका सवालमा नेपालीहरुभन्दा भारतीयहरु बढी एकताबद्ध र कर्मनिष्ठ देखिएका छन् पछिल्लो पटक । कालापानीको नक्साको विषयलाई मात्रै होइन भुगोलको विषयलाई पनि नेपालका नेता र दास मानसिकता भएकाहरुले निक्कै हलुका रुपमा लिन्छन् तर भारतले यो विषयलाई पछिल्लो समय निक्कै गम्भीरताका साथ लिने गरेको छ । सारा प्रमाणहरु नेपालको पक्षमा भएपनि नेपालका शासक प्रशासकहरुको दास प्रवृत्ति र आफ्नो शक्तिका कारण भारतले कालापानी क्षेत्र नेपाललाई हस्तान्तरण गर्ने कुरासम्म पनि सोचेको छैन । भारतलाई त्यो अवस्थामा सम्म पुर्याउने ल्याकत नेपाली शासक प्रशासकहरुले अहिल्यै राख्न सक्ने देखिदैन । यद्यपि नेपालको पछिल्लो पुस्ताले समेत कालापानीको भूगोलका बारेमा यथेस्ट जानकारी राखेको र भारतको यो रबैयाप्रति नेपाली युवाहरुमा बिरोधको भावना बढ्दै गएकाले निकट भविष्य मै यो विषयमा नेपालले भारत सामु आफ्नो प्रस्ट अडान राख्ने परिस्थिति बन्ने छ । स्वाभिमानि नेपालीहरुले यो परिस्थितिको सिर्जना निक्कै चाँडै गर्नेछन् ।
वर्षौको कब्जा, विश्वमै आफ्नो प्रभुत्व कायम राख्न सक्ने सामरिक महत्वको भूभाग, चीनसँगको सरल नाका, धार्मिक पर्यटकीय घाँटी, बाक्लो सैनिकीरण आदिका कारण कालापानी क्षेत्रमा भारतले अहिल्यै कुनै हालतमा पनि आफ्नो दाबि छोड्ने होइन यो एक सत्य जस्तै हो भने अर्को सत्य देश र जनताका पक्षमा, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको राजनीति गर्ने र यसकै लागि राष्ट्रको सेवा गर्ने तथा देशलाई आफूभन्दा माथि राख्दै हिड्ने प्रत्येक नेपालीले पनि यो विषयलाई यसै थन्क्याउने छैनन् । तसर्थ यो विषय कालान्तरसम्म वा यो भुभाग नेपाललाई फिर्ता नगरिए सम्म उठिनै रहनेछ । यद्यपि नेपाललाई यो विषयमा गम्भीर रुपले सोच्नु पर्ने अवस्थामा भने जनगणनाले पुर्याइदिएको छ ।
गणक ब्याँस गाउँपालिकाको वडा नम्बर एक छाङ्रु र तिंकरसम्म मात्रै जाँदै थिए । हल्ला गरिए जस्तो गुन्जी, कुटी र नाबीका लागि गणक राखिने कुरै हुँदैन, सम्भव पनि छैन तर भारतले ती तिनै गाउँ जाने गणकको जस्तै व्यवहार गर्यो । यसको गम्भीर अर्थ छ । नेपाल यति लाछि भयो कि उसले नेतालाई हेलिकोप्टर चढाउँ छ तर आफ्नो भूगोलको जणना गर्न गणकलाई सो ठाउँसम्म पुर्याउने योजना बनाउँदैन । यो लाछिपनको फाइदा उठाउँदै ब्याँस वडा नम्बर एकको जनगणना गर्न नदिने भारतीय रबैया सफल भयो भने परोक्ष्य रुपमा ब्याँस प्रगन्नामाथि भारतको अघोषित अधिकार स्थापित हुनेछ । यो गम्भीर विषयलाई नेपालका शासक प्रशासकहरुले बुझेका होइनन् कि बुझ पचाएका हुन् ?