छ महिनामा पूँजीगत खर्च १६ प्रतिशत

0
2039

दार्चुला, माघ १३ गते ।
दार्चुलामा चालु आर्थिक वर्षमा पूँजीगत खर्च साढे १६ प्रतिशत रहेको छ । संघीय सरकारको विकास बजेटको १६ दशमलव ६० प्रतिशत मात्रै पुससम्म खर्च हुन सकेको छ । जिल्लास्थित १९ वटा सरकारी कार्यालयमा चालु वर्षमा पूजीगत बजेट रहेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि पुस मसान्तसम्मको अवधिमा ८ करोड ७८ लाख ४९ हजार ६ सय ४१ रुपैयाँ ५२ पैसा पूजीगत बजेट खर्च भएको छ । चालु वर्षमा जिल्लास्थित सरकारी कार्यालयहरुमा नेपाल सरकारको ५२ करोड ९२ लाख ८९ हजार पूजीगत बजेट छ ।
प्रथम चौमासिक अवधिमा पूजीगत बजेट ५ प्रतिशत खर्च भएको थियो । मंसिर र पुष महिनामा पूजीगत खर्च १० प्रतिशतले वृद्धि भएको कोलेनिका दार्चुलाका सुचना अधिकारी इन्द्र ंिसह धामीले बताउनुभयो ।
पूजीगत बजेट बढी भएको दार्चुला तिंकर सडक योजनामा ५ करोड ३१ लाख ७२ हजार ७ सय ४ रुपैयाँ खर्च भएको छ । तिंकर सडकमा यो वर्ष ३२ करोड ६० लाख पूजीगत बजेट छ ।
महाकाली नदी नियन्त्रण आयोजनामा चालु वर्षमा १४ करोड बजेट रहेकोमा ६ महिनाको अवधिमा २ करोड ६४ लाख ३० हजार ५ सय ८६ रुपैयाँ खर्च भएको कोलेनिकाले जनाएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमा १ करोड ७७ लाख ३० हजार पूजीगत बजेट रहेकोमा पुससम्म ३९ लाख ५५ हजार ३ सय ८६ रुपैयाँ खर्च भएको छ ।
नयाँ प्रशासनिक भवन निर्माण भइरहेको जिल्ला प्रशासन कार्यालयले पुससम्म १ लाख २२ हजार २ सय ३ रुपैयाँ मात्र खर्च गरेको छ । नयाँ प्रशासनिक भवन निर्माणका लागि चालु वर्षमा जिल्ला प्रशासन कार्यालयमा २ करोड ८ लाख ९७ हजार पूजीगत बजेट छ ।
पुष महिनामा मात्रै ५ करोड ५४ लाख १० हजार ३ सय ९० रुपैयाँ पूजीगत बजेट खर्च गरिएको छ ।
चालु बजेट खर्च ४७ प्रतिशत
दार्चुलामा नेपाल सरकारको चालु बजेट खर्च ४७ प्रतिशत पुगेको छ । पुष मसान्तसम्म १ अर्ब ६८ करोड ६२ लाख ३८ हजार ४ सय ५७ रुपैयाँ चालु बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लास्थित दुई दर्जन सरकारी निकाय र नौवटा स्थानीय तहहरुमार्फत नेपाल सरकारको चालु बजेट खर्च भइरहेको छ । चालु आर्थिक वर्षमा जिल्लाभरीका सरकारी निकाय र स्थानीय तहहरुमा गरी ३ अर्ब ५३ करोड १९ लाख ३१ हजार ८ सय ६२ रुपैयाँ चालु बजेट रहेको छ ।