छ महिनामा दर्जन पटक सडक अवरुद्ध

2026

दार्चुला, माघ १३ गते ।
दार्चुलामा रहेको प्रमुख सडक मार्ग ६ महिनामा दर्जन पटक अवरुद्ध भएको छ । वर्षातको समयमा पहिरो र सडकमाथिबाट ढुंगा खस्दा सडक अवरुद्ध हुने गरेको प्रहरी तथ्यांक छ ।
२०७६ साउनदेखि पुष मसान्तसम्मको अवधिमा १२ पटक महाकाली लोकमार्ग अवरुद्ध भएको दार्चुला प्रहरी प्रमुख डिएसपी दीपेन्द्र शाहीले बताउनुभयो । शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरदेखि सदरमुकाम खलंगासम्म ७२ किलोमिटर कालोपत्रे सडक दार्चुलाको प्रमुख यातायात मार्ग हो ।
साउन महिनामा मात्रै ७ पटक सडक अवरुद्ध भएको छ । भदौमा ३ पटक तथा कार्तिक र पुष महिनामा १÷१ पटक महाकाली लोकमार्ग अवरुद्ध भएको प्रहरीको विवरण छ । साउन र भदौमा भारी वर्षाले सडक माथिबाट ढुंगा खस्दा र पहिरोले सडक अवरुद्ध भएको हो । कार्तिक र पुष महिना भएको सडक अवरुद्धको कारण भने सवारीसाधन दुर्घटना हो ।
दर्जन पटक सडक अवरुद्ध भए पनि तत्काल सडक खुलाउने गरेको डिएसपी शाहीले बताउनुभयो । ‘लोकमार्ग सुचारु गराउने कार्यलाई उच्च प्राथमिकता दिदैआएका छौ’ उहाँले भन्नुभयो । अवरुद्ध भएको सडक केही घण्टामै खोलिएको उहाँले बताउनुभयो । सबैभन्दा लामो समयको सडक अवरोध साउन २१ गते ८ घण्टासम्म भएको थियो ।
सबै पटकका सडक अवरोध शैल्यशिखर नगरपालिकाको क्षेत्रमा भएका छन् । नगरपालिका क्षेत्रको करिब ३० किलोमिटर लामो लोकमार्ग क्षेत्र पर्दछ । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ चैतलिचौर, उल्लानी, पनेबाज र वडा नम्बर ९ नडतङ क्षेत्रमा सडक अवरुद्ध भएको अभिलेख छ । सबैभन्दा बढी चैतलिचौर क्षेत्रमा सडक अवरुद्ध भएको छ ।
लोकमार्ग अवरुद्ध कुनै बन्द, हडताल र आन्दोलनका कारण नभएको प्रहरीको भनाई छ । सार्वजनिक यातायात र लोकमार्ग सञ्चालनलाई उच्च प्राथमिकता दिइएको दार्चुला प्रहरी प्रमुख डिएसपी दीपेन्द्र शाहीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !