छ न्यायिक समितिले अदालतको भ्रमण गरे

1976

दार्चुला, माघ २६ गते ।
दार्चुलाका नौ स्थानीय तहमध्ये छ तहका न्यायिक समितिले जिल्ला अदालतको भ्रमण गरेका छन् । आफ्नो निर्णयको पुनरावेदन सुन्ने जिल्ला अदालतको भ्रमण गरी न्यायिक समितिले न्यायिक प्रक्रियाबारे जानकारी लिएका हुन् ।
आधा दर्जन गाउँपालिकाका न्यायिक समितिका पदाधिकारीहरुले सदरमुकामस्थित जिल्ला अदालतको अवलोकन भ्रमण गरेका छन् । अपिहिमाल, नौगाड, मार्मा, व्यास, लेकम र दुहुँ गाउँपालिकाको न्यायिक समितिले अदालतको भ्रमण गरेको तामेलदार इन्द्रराज भट्टले बताउनुभयो ।
सबै समितिहरुले चालु वर्षकै अवधिमा अदालतको अवलोकन भ्रमेण गरेका हुन् । मुद्दाको दर्तादेखि फैसला कार्यान्वयनसम्मको प्रक्रियाबारे न्यायिक समितिका पदाधिकारीहरुले जानकारी लिएको भट्टले बताउनुभयो ।
न्यायिक समितिको पहिलो र नयाँ अभ्यास भएकोले न्यायिक प्रक्रियाबारे थप जानकारी र स्पष्टताका लागि भ्रमण गरिएको अपिहिमाल गाउँपालिकाका कानुनी सल्लाहकार भगतसिह ठेकरेले बताउनुभयो । मार्मा र नौगाड गाउँपालिकाका समेत कानुनी सल्लाहकार रहेका ठेकरेका अनुसार नौगाड र अपिहिमाल गाउँपालिकाको न्यायिक समितिले पुष १७ र १८ गते अदालतको भ्रमण गरेका हुन् ।
मार्मा गाउँपालिकाको न्यायिक समितिले पुष ५ र ६ गते जिल्ला अदालतको अवलोकन भ्रमण गरेको छ । मार्माको न्यायिक समितिले अद्र्ध न्यायिक निकाय अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयमा भ्रमण गरेको अधिवक्ता ठेकरेले बताउनुभयो ।
नौगाड र अपिहिमाल गाउँपालिकाको न्यायिक समितिले अदालतका साथै जिल्ला प्रशासन कार्यालयको पनि अवलोकन भ्रमण गरेको छ । जिल्ला प्रशासन कार्यालय पनि अद्र्ध न्यायिक निकाय हो । न्यायिक समितिमा स्थानीय तहका उपप्रमुख संयोजक र दुई जना सदस्य रहने व्यवस्था छ । समितिमा उजुरी प्रशासकको रुपमा एकजना कर्मचारी रहने व्यवस्था पनि छ ।
दार्चुलाका महाकाली र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन गाउँपालिकाको न्यायिक समितिबाट भने अहिलेसम्म अवलोकन भ्रमण गरिएको छैन । नयाँ संरचना र अभ्यास भएकोले न्यायिक समितिको सक्रियता विस्तारै अगाडि बढिरहेको मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीले बताउनुभयो । ‘जिल्ला अदालत र अन्य अद्र्ध न्यायिक निकायहरुमा हामी निकट भविष्यमा अवलोकन भ्रमण गर्छौ, राम्रो सिकाई र अनुभव आदानप्रदान गर्न हामी धेरै उत्सुक छौ’ उपाध्यक्ष अवस्थीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !