छापरीको वडा सम्पर्क कार्यालय खलंगामा

2098

दार्चुला, माघ १७ गते ।
महाकाली नगरपालिकाको वडा नम्बर १ छापरीको वडा सम्पर्क कार्यालय खलंगामा सञ्चालन हुँदैआएको छ । वडा समितिको निर्णय गरी दुई वर्षदेखि खलंगाको बंगाबगरमा वडा कार्यालय सञ्चालन भइरहेको छ ।
स्थानीय वासिन्दाकोको लिखित मागका आधारमा वडा समितिले निर्णय गरी खलंगामा सम्पर्क कार्यालय खोलिएको वडाअध्यक्ष कल्यानसिह कुवरले बताउनुभयो । वडा नम्बर १ छापरीमा पर्ने धम्पनेरा, लास्कु, सल्याडी, कलौन, श्रीबगड र तल्लो मलेरा वस्तीका वासिन्दाले खलंगाबाटै वडा कार्यालयको सेवा माग गरेको उहाँको भनाई छ ।
आधा दर्जन वस्तीका स्थानीयले माग गरेपछि वडा समितिले खलंगामा सम्पर्क कार्यालय राख्ने निर्णय गरेको वडाअध्यक्ष कुवरले बताउनुभयो । मासिक १ हजार ५ सय रुपैयाँ भाडा तिरेर एउटा कोठामा सम्पर्क कार्यालय सञ्चालन गरिएको छ । वडा कार्यालयको मसलन्द खर्चबाट कोठाभाडा तिरिदैआएको वडाअध्यक्ष कुवरले बताउनुभयो ।
महाकाली नगरपालिकाको वडा नम्बर १ को केन्द्र रहेको छापरीमा पनि वडा कार्यालय सञ्चालन भइरहेको छ । छापरीको वडा कार्यालयमा सामाजिक परिचालक दर्पान लोहार र कार्यालय सहयोगीले सेवा दिने गरेको वडा सचिव पुष्करसिह कार्कीले बताउनुभयो । वडा सचिव कार्की भने खलंगाको कार्यालयमा उपस्थित हुन्छन् । वडा नम्बर २ को वडासचिवको जिम्मेवारी समेत भएकाले आफुले खलंगाबाटै सेवा दिइरहेको कार्कीको भनाई छ ।
खलंगा बजारसंगै जोडिएको वडा नम्बर १ का केही वस्तीलाई छापरीस्थित वडा कार्यालय पुग्न समस्या हुने गरेको सामाजिक परिचालक दर्पान लोहारले बताउनुभयो । सदरमुकाम नजिकका वासिन्दाको सुविधाका लागि खलंगामा सम्पर्क कार्यालय सञ्चालन गरिएको उहाँको भनाई छ ।
नागरिकता, जग्गा सम्बन्धि सेवा, बैंकिङ कारोबार आदि सेवाका लागि सदरमुकाम पुग्नैपर्ने भएकाले खलंगाको सम्पर्क कार्यालयबाट सेवा लिनेको संख्या धेरै भएको वडाअध्यक्ष कल्यानसिह कुवरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !