छानविन समिति प्रतिवेदनः भारत संग डराएर सत्य बाहिर नल्याएको परिवारको प्रतिक्रिया

0
467

भाद्र १७ गते, दार्चुला ।
दार्चुलाको ब्यास गाउँपालिका २ का युवा जयसिह धामी भारतीय एसएसबीले तुईनको लट्ठा खुस्काउदाँ महाकाली नदीमा बेपत्ता भएको आज ३५ दिन पुरा भएको छ ।

घरपरिवारले स्थानिय संस्कार अनुसार आज ३५ दिने मृत्यु संस्कार सम्पन्न गरेका छन् । अल्पायुमै मृत्यु भएकाहरुको ३५ दिनमै मृत्यु संस्कार सम्पन्न गर्ने परम्परा अनुसार विहिबार बोकाको बली दिई मृतक जयसिह धामीको मृत्यु संस्कार सम्पन्न गरिएको भाई नरेन्द्र सिह धामीले जानकारी दिए । जयसिह धामी महाकाली नदीमा बेपत्ता भएको विषयमा छानविन सरकारले गठन गरेको छानविन समितिले प्रतिबेदन बुझाएको छ । गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतमले मंगलबार प्रतिवेदन बुझाएपछि गृह मन्त्रालयले एक विज्ञप्ती जारी गरि प्रतिवेदनको संक्षिप्त विवरण उल्लेख गरेको छ । समितिले “घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरि कारवाही हुनुपर्ने” सिफारिस गरेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
छानविन समितिले एसएसबीको संलग्नताबारे प्रस्ट नबोलेको भन्दै मृतक जयसिह धामीको परिवारले असन्तृष्टी जनाएको छ । भारतीय एसएसबीले तुईन खुस्काएकाले महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीहरुले बयान दिइसकेको अवस्थामा पनि एसएसबीले नै घटना घटनाएको भनेर प्रतिवेदनमा नसमेटिनु दुःखद भएको जयसिह धामीका भाई नरेन्द्र सिह धामीको भनाई छ । भारत संग डराएर सत्य ल्याउन नखोजिएको हो कि? सोझा गरिब जनताले यसरी नै मर्नुपर्ने हो? धामीले प्रश्न गर्नुभयो । प्रतिबेदनको पुर्ण पाठ आइसकेपछि परिवारले छानविनका विषयमा बोल्ने उहाँको भनाई छ । छानविन समितिले जयसिह धामीको परिवारलाई उचित क्षतीपुर्ती र राहत उपलब्ध गराउन भारतीय पक्षसंग कुटनीतिक माध्यमबाट पहल गर्नुका साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको ब्यवस्थापन गर्न सिफारिस गरेको छ ।