छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो

0
579

दार्चुला, बैशाख २६ गते । 

कालापानी नजिकको दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका—१ मा रहेका छाङ्गरु र तिंकरको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरले निर्वाचन सामग्री ढुवानी गरिएको हो । नेपाली भूमीबाट सो क्षेत्र जान बाटो नभएका कारण हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । सोमवार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु र तिंकरको मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरुलाई पठाइएको छ ।

छाङ्गरुको कैलाशपति आवि केन्द्रमा ३७५ र तिंकरको आवि मोति महिला संघ केन्द्रमा २३१ मतदाता रहेका छन् । सो क्षेत्रका बासिन्दाहरु वैशाख तेस्रो सातादेखि सदरमुकामबाट व्याँस उक्लन थालेका छन् । जिल्लामा ८८ हजार २ सय १५ मतदाता रहेका छन् ।