छाङरु र राप्लामा खाद्यको नयाँ विक्री केन्द्र

1122

दार्चुला, असार १८ गते ।
व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु र वडा नम्बर २ राप्लामा खाद्यको नयाँ विक्री केन्द्र सञ्चालन हुने भएको छ । नेपाल सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत दार्चुलाका दुइ ठाँउमा विक्री केन्द्र थपेको हो ।
सदरमुकाम खलंगाबाट टाढाको दूरी र भौगोलिक विकटतामा रहेका ठाँउमा कम्पनीले खाद्यान्न आपुर्ति गर्ने भएको छ । व्यासको छाङरु र तिंकर गाउँमा तत्काल हेलिकोप्टरमार्फत एक÷एक सय क्वीन्टन चामल ढुवानीको तयारी भइरहेको छ । आगामी आर्थिक वर्षदेखि नियमित खाद्यान्न ढुवानीको गृहकार्य गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय धनगढीका प्रमुख अनिल श्रेष्ठले बताउनुभयो ।
असार १६ गते कम्पनीले देशभरका खाद्य डिपो र विक्री केन्द्रसम्म खाद्यान्न ढुवानीको टेण्डर प्रकासित गरेको छ । दार्चुलाका ५ स्थानमा चामल ढुवानी गर्न सुचना निकालिएको श्रेष्ठले जानकारी दिनुभयो । अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी, मार्मा गाउँपालिकाको पारिबगर र व्यास गाउँपालिकाको सुन्सेरामा कम्पनीले विगतदेखि डिपो नै सञ्चालन गर्दैआएको छ ।
व्यास गाउँपालिकाको राप्ला र छाङरुमा नयाँ आर्थिक वर्षदेखि विक्री केन्द्र सञ्चालन गर्न लागिएको प्रादेशिक कार्यालय प्रमुख अनिल श्रेष्ठले जानकारी दिनुभयो । खण्डेश्वरी, पारिबगर र सुन्सेरामा कम्पनी आफैले डिपो सञ्चालन गर्ने व्यवस्था छ । कर्मचारी अभावमा पारिबगर र सुन्सेरामा खाद्य वितरणको जिम्मा स्थानीय तहलाई दिइएको श्रेष्ठको भनाई छ । अपीहिमाल गाउँपालिकाको खण्डेश्वरीमा भने कम्पनीका दुइजना कर्मचारी कार्यरत छन् ।
नयाँ थपिएका राप्ला र छाङरु विक्री केन्द्र सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिइने कम्पनीको भनाई छ । ‘हामीसंग पर्याप्त जनशक्ति छैन, थपिएका विक्री केन्द्र व्यवस्थापन र सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई हुन्छ’ श्रेष्ठले भन्नुभयो ।
आगामी आर्थिक वर्ष खण्डेश्वरीमा २ हजार क्वीन्टल खाद्यान्न ढुवानी गर्ने योजना छ । सुन्सेरामा १ हजार क्वीन्टल र पारिबगरमा ८ सय क्वीन्टल खाद्यान्न ढुवानीको टेण्डर निकालिएको छ । राप्ला र दुम्लिङमा ५÷५ सय क्वीन्टल खाद्यान्न ढुवानीको सुचना निकालिएको छ । सबै स्थानमा स्थलमार्गबाट खाद्यान्न ढुवानी गर्न टेण्डर गरिएको कम्पनीका धनगढी कार्यालय प्रमुख अनिल श्रेष्ठले बताउनुभयो ।
खाद्यान्न ढुवानीको सम्झौता भइसकेपछि ढुवानीकर्तालाई बढीमा एक महिनाको ढुवानी म्याद तोकिएको छ । खण्डेश्वरी र सुन्सेरा डिपोमा ढुवानी गर्न १५ दिन, पारिबगर डिपोका लागि १२ दिन म्याद तोकिएको छ । राप्लामा खाद्यान्न ढुवानी गर्न २५ दिन र छाङरुका लागि ३० दिनको ढुवानी अवधि तोकिएको छ । ढुवानीकर्ताले धनगढीबाट खाद्यान्न ढुवानी गर्नुपर्ने शर्त राखिएको छ ।
टेण्डरको अवधि एक महिना छ । त्यसलगत्तै ढुवानीकर्ताको छनौट गरी खाद्यान्न ढुवानी गरिने कम्पनीको धनगढी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !