छाङरु र तिंकरका जनतामाझ छिट्टै विषेश प्याकेज ल्याएर आउँदैछौः मुख्यमन्त्री भट्ट

0
870

बिरा दत्त भट्ट, दार्चुला ।
असोज २० गते । ब्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङरु र तिंकरका बासिन्दाहरुका लागि सुदुरपश्चिम प्रदेश सरकारले विषेश प्याकेज ल्याएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । सोमबार छाङरु, तिंकर जाने घाटीबगड स्थित नेपाली सेनाले निर्माण गरेको बाटोको उद्धघाटनपछि दार्चुला सदरमुकाम खलंगामा पत्रकारहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।
छाङरु र तिंकर क्षेत्रका बासिन्दाहरुका आवस्यकता बारे छाङरुका स्थानिय समेत रहेका प्रदेश सभा सदस्य गेल्बु सिह बोहरा, स्थानिय सरकार तथा स्थानियहरु संग छलफल गरि प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका उक्त क्षेत्रका नागरिकहरुको आवस्यकताका आधारमा प्याकेजहरु ल्याउन लागेको मुख्यमन्त्री भट्टले जानकारी दिएका छन् । “प्याकेजका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको भएकाले छिट्टै कार्यक्रहरु ल्याएर जनताको विचमा आउँछौ, के–के कार्यक्रमहरु गर्ने भन्ने तय भइसकेको छ, प्रदेश सरकारका कार्यालयहरुबाट छिट्टै कार्यक्रमहरु सञ्चालन हुन्छन्” मुख्यमन्त्री भट्टले भन्नुभयो ।
छाङरु, तिंकर जाने घाटीबगड क्षेत्रको अप्ठ्यारो बाटो निर्माण गरेकोमा नेपाली सेनालाई धन्यबाद दिदै मुख्यमन्त्री भट्टले तम्पाकु क्षेत्रमा पनि बाटोको समस्या रहेको बुझिएकाले त्यस क्षेत्रमा तत्काल बाटो निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने र अप्ठ्यारो ठाउँलाई सहज बनाइने मुख्यमन्त्री भट्टको भनाई छ ।
छाङरु र तिंकर क्षेत्रका जनतालाई खाद्यान्न ढुवानीमा पनि समस्या भइरहेकाले प्रदेश सरकारले ढुवानीको काम पनि गर्ने उहाँको भनाई छ ।
दार्चुला तिंकर सडक निर्माण नेपाल सरकारको समेत प्रथमिकतामा रहेका र सेनाले जिम्मा पाएको सडक घाटीबगड– तिंकर ८७ किलोमिटर सडकको निर्माण कार्य सञ्चालन गर्न पनि प्रदेश सरकारले छिट्टै पहल गर्ने मुख्यमन्त्री भट्टले जानकारी दिनुभयो ।
छाङरु र तिंकरका बासिन्दाहरु दार्चुला सदरमुकाम खलंगा झर्ने समय भईरहेकाले अन्य ठाउँमा पनि बाटो अप्ठ्यारो भए तत्काल बनाइने उहाँको भनाई छ ।
“हाम्रो प्रयास नै नेपाली जनताहरु आफ्नै देशको बाटो प्रयोग गरेर सदरमुकाम आउन–जान सक्ने स्थिती हुनुपर्छ भन्ने छ, जनताले स्वदेशको बाटो प्रयोग गरेर आउन सक्ने स्तिथीको सिर्जना गर्नुपर्छ भन्नेमा प्रदेश सरकार स्पष्ट छ” मुख्यमन्त्री भट्टले भन्नुभयो ।
विगतमा ब्यास गाउँपालिकाको वडा नम्बर १ मा पर्ने छाङरु र तिंकर गाउँ जाने नेपालको बाटो भत्कीएकाले भारतबाट जानुपर्ने बाध्यता रहेको थियो । सेनाले उक्त बाटो निर्माण सम्पन्न गरिसकेपछि भारतबाट उक्त क्षेत्र पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।