छाङरु र तिंकरको चामल ढुवानी भाडा प्रतिकिलो २ सय ४९ रुपैयाँ

907

दार्चुला, असार २२ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दार्चुलाको त्रिदेशीय सीमाक्षेत्रमा रहेको छाङरु र तिंकर गाउँमा हेलिकोप्टरमार्फत चामल ढुवानीको तयारी गरेको छ । सुर्खेतबाट छाङरु र तिंकर गाउँमा प्रतिकिलो २ सय ४९ रुपैयाँ भाडा तिरेर चामल ढुवानी गरिन लागेको छ ।
नीजि हवाइ कम्पनीमार्फत हेलिकोप्टरबाट २ सय क्वीन्टल चामल ढुवानी गरिन लागेको कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमवहादुर थापाले बताउनुभयो । छाङरु र तिंकरमा एक÷एक सय क्वीन्टल चामल हेलिकोप्टरमार्फत ढुवानी गर्न कम्पनीले असार ३ गते टेण्डर निकालेको थियो ।
चामल ढुवानीको प्रतिस्पर्धामा ३ वटा हवाइ कम्पनीले सहभागिता जनाएका थिए । सबैभन्दा न्युन भाडा कबोल गर्ने माउन्टेन हेलिकोप्टर कम्पनीसंग चामल ढुवानीको सम्झौता गरिन लागेको कम्पनीका प्रादेशिक प्रमुख ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार माउन्टेन हेलिकोप्टरले प्रतिकिलो २ सय ४९ रुपैयाँमा सुर्खेतबाट छाङरु र तिंकरसम्म चामल ढुवानी गर्नेछ । दुबै गाउँमा चामल ढुवानी गर्न कम्पनीले प्रतिकिलो २ सय ८० रुपैयाँको ढुवानी लाग्ने लागत अनुमान तयार गरेको थियो ।
सुर्खेतबाट दार्चुला सदरमुकाम वा सडक सुविधा पुग्ने ठाँउसम्म गाडीबाटै चामल ढुवानी गरिनेछ । सदरमुकाम वा सडक मार्गबाट ढुवानी हुने ठाउँदेखि छाङरु र तिंकर गाउँसम्म सानो हेलिकोप्टरमार्फत चामल ढुवानी हुनेछ । सानो हेलिकोप्टरले एकपटकमा ७ क्वीन्टल चामल ढुवानी गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयले जनाएको छ ।
छनौट गरिएको कम्पनीसंग असार २३ गतेसम्म सम्झौता गरिने र असार २५ देखि नै चामल ढुवानीको कार्य सुरु गरिने कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमवहादुर थापाले जानकारी दिनुभयो । नेपाल सरकारले चामल ढुवानीको खर्च व्यहोर्ने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी पूर्ण सरकारी स्वामित्वको कम्पनी हो ।
एक क्वीन्टल चामल ढुवानीमा २४ हजार ९ सय रुपैयाँ खर्च हुनेछ । २ सय क्वीन्टल चामल ढुवानी गर्न नेपाल सरकारले ४९ लाख ८० हजार रुपैयाँ खर्च गर्नुपर्नेछ । नयाँ आर्थिक वर्ष २०७७÷७८ मा भने राप्ला र छाङरुमा स्थलमार्गबाट चामल ढुवानी गरिनेछ । दुबै ठाउँमा ५÷५ सय क्वीन्टल चामल स्थलमार्गबाट ढुवानी गराउन कम्पनीले टेण्डर समेत निकालिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !