छाङरु गाउँको सुरक्षाका लागि वडा कार्यालयको हेरालु

2086

दार्चुला, माघ ११ गते ।
त्रिदेशीय सिमाक्षेत्रमा पर्ने व्यास गाउँपालिकाको छाङरु गाउँको सुरक्षाका लागि १ नम्बर वडा कार्यालयले एकजना हेरालुलाई परिचालन गरेको छ । अत्यधिक हिमपातका कारण व्यासक्षेत्रका स्थानीय वासिन्दा सदरमुकाम खलंगा बसाइ सर्ने गर्दछन् ।
गाँउका सबै वासिन्दा खलंगा झरेको बेला गाउँको सुरक्षाका लागि मासिक १० हजार पारिश्रमिक दिएर एकजना हेरालु राखिएको वडाअध्यक्ष अशोकसिह बोहराले बताउनुभयो । ‘गाउँ रित्तिएको बेला रेखदेखका लागि स्थानीय रायसिह ऐतवाललाई जिम्मेवारी दिइएको’ उहाँको भनाई छ ।
विगतमा चोरीका केही घटना भएपछि छाङरुका स्थानीयले हरेक वर्ष हिउदको समय हेरालु राख्दैआएका छन् । मंसिर १५ देखि चैेत्र १५ गतेसम्म ५ महिनाका लागि गाउँको हेरालु राखिएको १ नम्बर वडा कार्यालयका सचिव विनोदसिह बुढाथोकीले बताउनुभयो ।
वडा कार्यालयले छाङरु वस्ती टोल हेरालु शीर्षकमा ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गतवर्ष भने गाउँको सामुदायिक कोषबाट हेरालु राखिएको थियो । चालु वर्षमा स्थानीय वासिन्दाको छलफल र सहमतिबाट वडाको बजेट गाउँको सुरक्षा हेरालु राख्न छुट्याइएको वडाअध्यक्ष बोहराले बताउनुभयो ।
व्यास गाउँपालिकाको वडा नम्बर १ मा छाङरु र टिंकर गरी दुइटा मात्रै वस्ती छन् । ‘अत्यधिक हिमपातका कारण टिंकरमा हिउदको समय मान्छे बस्न सक्दैन, टिंकरको तुलनामा कम हिमपात हुने छाङरुमा सुरक्षा हेरालु राखेका छौ’ वडा सदस्य राहुल लामाले भन्नुभयो ।
आजभोलि सुरक्षा हेरालु रायसिह ऐतवालका साथै स्थानीय चाउरे लामा र सिन्धु लामाको परिवार पनि छाङरुमै छन् । दुबै लामा परिवारका ५ जना हिउदको समय छाङरुमै रहेको वडा सदस्य राहुल लामाले बताउनुभयो । कमजोर आर्थिक अवस्था भएको र खलंगामा दोहोरो बसोबास नभएकोले दुइ लामा परिवार हिउदको समय छाङरुमै बसेको उहाँको भनाई छ ।
टिंकर र छाङरुका स्थानीयसंगै व्यासक्षेत्रमा रहेका दुइटा प्रहरी चौकी पनि तल झरेका छन् । व्यासका स्थानीय खलंगामा झरेका छन् भने टिंकर र सितापुलमा रहेको प्रहरी चौकी राप्लाको दुम्लिङ सरेको छ । यो वर्ष व्यासक्षेत्रको कुञ्चा (बसाइसराई) मंसिर १५ सम्म सरेको थियो ।
छाङरु गाउँको सिमावर्ती भारतीय वस्ती गव्र्याङमा एक दर्जन परिवार हिउदको समयमा पनि गाउँमै बसेका छन् । एसएसवी र भारत तिब्बत सिमा पुलिसका सुरक्षाकर्मी पनि वर्षभरी गव्र्याङमा बस्ने गरेका छन् ।
व्यासक्षेत्रमा रहेको नेपाल टेलिकमको स्काई फोनको टावर मंसिर अन्तिम सातादेखि नै बन्द छ । हिमपातका कारण टेलिफोन टावर बन्द भएपछि व्यासक्षेत्रमा सञ्चार सम्पर्क नभएको वडा सचिव विनोदसिह बुढाथोकीले बताउनुभयो । ‘छाङरुमा राखिएका हेरालुले सामान्य रेखदेख र निगरानीको काम गर्छन्’ उहाँले भन्नुभयो, ‘केही घटना भयो भने उहाँमार्फत पछि जानकारी पाउन सकिने अवस्था रहन्छ ।’
हिउदको समय छाङरुमा बस्नेहरुका लागि स्थानीय र आफन्तजनले खाद्यान्न र दाउराको भने व्यवस्था गर्नेगरेको वडासदस्य राहुल लामाले बताउनुभयो । ‘हिमपात धेरै भए पनि घरभित्रै बसेर समय निकाल्छन्, खान र बस्नलाई समस्या छैन’ उहाँले भन्नुभयो । व्यासको छाङरुमा एक सय र टिंकरमा ६० घरपरिवारको परम्परागत बसोवास छ । दुबै गाउँमा शौका समुदाय र केही लामा परिवारको बसोवास रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !