छाङरुमा चिसो बढेपछि सदरमुकाम झर्दै शौका समुदाय

700
ब्यास गाउँपालिकको वडा नं १ मा रहेको छाङरु गाउँ

दार्चुला, मंसिर २० गते ।
त्रिदेशीय सीमा क्षेत्र ब्यास गाउँपालिकाको वडा नं १ मा चिसो बढ्न थालेपछि त्यहाँका गाउँमा बसोबास गर्ने ब्यासी शौका समुदाय दार्चुला सदरमुकाम खलंगामा मौषमी बसाई सर्न थालेका छन् । उक्त वडामा रहेका दुई मात्रै गाउँ मध्ये तिंकर गाउँका बासिन्दाहरु भारतको बाटो भएर गत आठ गते दार्चुला सदरमुकाम आईपुगेका थिए । शुक्रबार छाङरु गाउँका बासिन्दाहरु पनि भारतीय बाटो भएर दार्चुला सदरमुकाम खलंगा तर्फ हिडेका छन् ।
छाङरुका १ सय १३ परिवार भारतको बाटो भएर खलंगा बसाई सर्न लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदम बहादुर बिष्टले जानकारी दिनुभयो । दुई परिवार भने हिउदमा पनि छाङरुमै बस्ने छन् । भारतको बाटो भएर आइरहेका छाङरुका ३१ जना महिला, ६० जना पुरुष र १ सय ९७ ओटा पशुचौपाया रहेको प्रहरीले जनाएको छ । तिंकरका स्थानीय यसअघि बसाई सरेका छन् भने बसाई सर्न बाँकी छाङरुका स्थानीयको कुञ्चा अन्तिम कुञ्चा हो ।
ब्यासी सौका समुदायका लागि नाका खोल्ने विषयमा दुबै देशका स्थानीय प्रशासनको पूर्व सहमति अनुसार शुक्रबार केही बेर सितापुल नाका खोलिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताउनु भयो । मंसिर ३ गते तिंकर गाउँका ६० परिवारका लागि सितापुल नाका खोलिएको थियो । भारतको बाटो भएर पाँच दिनमा छाङरुबासी खलंगा पुग्ने ब्यास गाउँपालिका वडा नं १ का वडाध्यक्ष असोक सिह बोहराले जानकारी दिनुभयो ।
दुबै देशका स्थानीय प्रशासनको पूर्व सहमति अनुसार छाङरुबासिहरुका लागि खलंगा आउन मंसिर २४ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खलंगा–धार्चुला नाका खोलिने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !