छाङरुको सिमा प्रशासन सञ्चालनमा ल्याउन अनेरास्ववियूको माग

0
773

दार्चुला, साउन १२ गते ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले छाङरुको सिमा प्रशासन कार्यालयले छाङरु बाटै सेवा सुविधा दिनुपर्ने माग गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेललाई ज्ञापन पत्र बुझाउदै अनेरास्ववियूले सिमा प्रशासन कार्यालयको सेवा छाङरुबाटै दिनुपर्ने लगायतका विभिन्न ४ वटा मागहरु गरेको छ ।
राष्ट्रियता, भौगोलीक अखण्डता, सार्वभौमकता र जनजिविकाको पक्षमा उभिदै आएको अनेरास्ववियूले भारतीय हस्तक्षेप र अतिक्रमण रोकी नेपाली भूमी फिर्ता गर्न भारत सरकार संग गरेको कुटनितिक ध्यानाकर्षणलाई पुनः ध्यानाकर्षण गराउन माग गर्दछ ज्ञापन पत्रमा भनिएको छ ।
साथै नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले नयाँ नक्सा प्रशासन गरि सिमा क्षेत्रमा विओपी स्थापना गरेर सिमा क्षेत्रको सुरक्षामा अपनाएको उच्च सर्तकताको प्रशंसा गर्दै विभिन्न चारवटा मागहरु गरेको छ ।
२०३४ सालमा छाङरुमा स्थापना भएको सिमा प्रशासन कार्यालय २०७२ सालमा बन्द भई ब्यास क्षेत्रमा सरकारको प्रशासनिक उपस्थिती नरहेकाले यथासिघ्र ब्यासको उक्त क्षेत्रमा सिमा प्रशासन कार्यालय सञ्चालनको लागि पहल गरिनुपर्ने, ब्यास गाउँपालिकाको वडा नं १ जोड्ने पैदल बाटो निर्माणमा ढिलाईका कारण त्यहाँको जनजिवन प्रभावित भएकाले उक्त काम प्रभावकारी रुपमा अगाढि बढाउन निर्माणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने माग गरिएको छ ।
साथै पछिल्लो समय कोरोना महामारीबाट जनता र देश आक्रान्त भएको अवस्थामा यातायात क्षेत्रमा मापदण्ड विपरित यात्रु बोक्ने र मनपरि भाडा असुल्ने कार्य भइरहेकाले तत्काल अनुगमन गरि मापदण्ड बनाई भाडादर निर्धारण गर्नुपर्ने र बाढी पहिरोका कारण जिल्लाका विभिन्न ठाउँमा मानविय एबं ठुलो जनधनको क्षती भएको अवस्थामा पिडितहरुलाई उचित राहत र घरबारविहिनहरुलाई पुर्न स्थापन गर्न अनेरास्ववियूले माग गरेको छ ।
ब्यास क्षेत्रका बासिन्दाहरु खलंगा क्षेत्रमा पनि बसोबास गर्ने भएकाले छाङरुको सिमा प्रशासनको कामकाज हाल जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट भइरहेको साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरले जानकारी दिनुभएको छ । ६ जनाको दरबन्दी रहेको सिमा प्रशासनका हाल ३ जना मात्रै कर्मचारी रहेको उहाँले बताउनुभयो । छाङरुमा सिमा प्रशासनको नाममा भवन समेत भाडामा लिइएको छ ।

ज्ञापन पत्र हेर्नुहोस ।