चीन सरकारले गोकुलेश्वरमा प्रदेशकै नमुना विद्यालय संरचना बनाउने

504

दार्चुला, फागुन १ गते ।
शैल्यशिखर नगरपालिकाको केन्द्रस्थित गोकुलेश्वर माध्यमिक विद्यालयमा चीन सरकारले सुदूरपश्चिम प्रदेशकै नमुना विद्यालय संरचना बनाउने भएको छ । निर्माण गरिने विद्यालय संरचनाको अन्तिम विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्न चीनिया प्राविधिक टोली शनिवार दार्चुलाको गोकुलेश्वर पुगेको छ ।
शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको समन्वयमा चीन सरकारले विद्यालय भवन निर्माणको तयारी गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रवहादुर विष्टले बताउनुभयो । ‘सुविधा सम्पन्न विद्यालय संरचना बनाउने गृहकार्य एक दशकअघिदेखि सुरु भएको थियो, अब निर्माण कार्यको अन्तिम तयारीस्वरुप डिपिआर बनाइदैछ’ उहाँले भन्नुभयो ।
सुदूरपश्चिम प्रदेशभरीमै पहिलो र नमुना विद्यालय संरचना निर्माण गर्ने गृहकार्य भइरहेको चीनिया प्राविधिक टोलीका दोभाषे विद्यानन्द चौधरीले बताउनुभयो । विद्यालयको भौतिक संरचना निर्माणको स्थलगत अध्ययन गर्न सात जना चीनिया प्राविधिकको टोली शनिवार गोकुलेश्वर पुगेको उहाँले बताउनुभयो ।
चीनिया प्राविधिक टोलीको नेतृत्व चाइना एभिएसन प्लानिङ एण्ड डिजाइन इन्सिच्युट गु्रपका आर्किटेक्ट सिनियर इन्जिनियर होङ युङले गर्नुभएको छ । प्राविधिक टोलीको सहजिकरणका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रका इन्जिनियर सुरेश विष्ट टोलीसंगै आएका छन् ।
प्राविधिक टोलीले झण्डै एक महिना लगाएर प्रस्तावित संरचना निर्माणको गृहकार्य गर्ने भाषानुवादक चौधरीले बताउनुभयो । ‘निर्माणस्थलको भौतिक अवस्था, माटो परीक्षणलगायतका विषयमा अध्ययन, सर्भेक्षण र छलफल गर्ने कार्यतालिका छ’ उहाँले भन्नुभयो । सरोकारवालाहरुसंग सम्पर्क, समन्वय र छलफल पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।
चीनिया प्राविधिक टोलीलाई आइतवार विद्यालयमा स्वागत गरिएको शिक्षक भुवनवहादुर डाँगाले बताउनुभयो । प्राविधिक टोलीले विद्यालय संरचना निर्माणका लागि हालसम्मको तयारीबारे जानकारी समेत दिएको छ ।
विद्यालयको सुविधासम्पन्न भौतिक संरचना निर्माण हुने तयारीले स्थानीयमा खुशी छाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तरसिंह विष्टले बताउनुभयो । ‘अहिलेको सबै भौतिक संरचना हटाएर अत्याधुनिक नयाँ भौतिक संरचना निर्माणको तयारी भइरहेको छ, हामी धेरै खुशी र उत्साहित छौ’ उहाँले भन्नुभयो ।
चीनिया सहयोगमा विद्यालय भवन, छात्रावास, ल्याव भवन, शिक्षक स्टाफको निवास भवन, खेलमैदान, खाजाघरलगायतका सबै संरचना एकीकृत रुपमा निर्माण गरिने जानकारी प्राविधिक टोलीले दिएको छ । प्रस्तावित सबै संरचनाहरु चीनिया ठेकेदारमार्फत निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिने जानकारी प्राप्त भएको विव्यस अध्यक्ष विष्टले बताउनुभयो ।
विद्यालयको भौतिक संरचना निर्माणका लागि निर्माण सामग्रीको उपलब्धता, विद्युत, खानेपानी, डम्पिङ साइट, फोनसेवाको उपलब्धताबारे पनि प्राविधिक टोलीले जानकारी मागेको छ । शैल्यशिखर नगरपालिकाले विद्यालयको भौतिक संरचना निर्माणमा समन्वय र सहयोग गर्ने प्रतिवद्धता प्राविधिक टोलीसंग गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रवहादुर विष्टले बताउनुभयो ।
गोकुलेश्वरमा चीनिया सहयोगमा विद्यालय संरचना निर्माण गर्न सन् २०१३ र २०१६ मा चीनिया टोलीले स्थलगत भ्रमण गरेको थियो । सन् २०१५ को भूकम्प र कोभिड महामारीका कारण भवन निर्माणको गृहकार्यमा केही ढिलाइ भए पनि चालु आर्थिकभित्रै संरचनाको निर्माण थालिने चीनिया प्राविधिक टोलीले जानकारी दिएको छ ।
विद्यालयको भौतिक संरचनाको कुल लागतबारे भने टुंगो लागिसकेको छैन । ‘जेजति संरचना बनाइन्छ सबै चीनिया ठेकेदारमार्फत निर्माण गरिसकेपछि हामीलाई हस्तान्तरण गरिन्छ भन्ने जानकारी पाएका छौ’ विव्यस अध्यक्ष विष्टले भन्नुभयो ।
दार्चुलाको गोकुलेश्वरसंगै गोरखा र दोलखाको जिरीमा पनि चीनिया सहयोगमा नमुना विद्यालय संरचना निर्माण गर्न लागिएको चीनिया प्राविधिक टोलीले बताएको छ । चीन सरकारको सहयोगमा निर्माणको तयारी थालिएको सुदूरपश्चिम प्रदेशकै पहिलो र एकमात्र विद्यालय गोकुलेश्वर मावि रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !