चीनले भुटानलाई दिएको प्रस्तावले भारत त्रसित, दिल्लीमा तरंग

0
858

दार्चुला, साउन १३ गते ।
सीमा विवाद समाधानको लागि चीनले भुटानलाई ‘प्याकेज समाधान’को प्रस्ताव दिएपछि यसले भारत त्रसित भएको छ । चीनले भुटानलाई जमिन साटफेरको प्रस्ताव दिएको छ जुन भारतको लागि सुरक्षाका दृष्टिले खतरनाक हुने भन्दै नयाँ दिल्ली तरंगित भएको छ । प्रस्ताव अनुसार चीनले भुटानको उत्तरी क्षेत्रमा रहेको विवादित भूमि भुटानलाई दिनेछ र यसको बदलामा भुटानले डोकलाम समेत भुटानको पश्चिमी सीमा क्षेत्रको विवादित भूमि चीनलाई दिनेछ । यदि यो प्रस्ताव भुटानले स्वीकार गरेका सामरिक महत्वको डोकलाम क्षेत्रमा चीनको आधिपत्य हुनेछ जुन भारतका लागि निकै खतरनाक हुन सक्छ ।

चीनले यसअघि १९९६ मा भुटानलाई यही प्रस्ताव दिएको थियो तर त्यतिबेला भुटानले यो प्रस्ताव अस्वीकार गरेको थियो । अहिले चीनले फेरि भुटानसँग यही प्रस्तावमा सम्झौता गर्ने प्रयास गरिरहेको छ । हालै चीनको विदेश मन्त्रालयले सागतेंगसँग जोडिएको आफ्नो पूर्वी सीमा क्षेत्रको भूमिमा आफ्नो दावी गरेको छ । यो त्यही विवादित क्षेत्र हो जुन क्षेत्र चीनले भुटानलाई दिएर डोकलाममा आधिपत्य कायम गर्ने प्रयास गरिरहेको छ । भारतीय विश्लेषकहरुले चीनले भुटानसँग विवादित क्षेत्रमा दावी गर्दै भुटानमाथि दबाब बढाएर डोकलाम कब्जा गर्ने व्रयास गरिरहेको विश्लेषण गरेका छन् ।

चीन र भुटानबीच १९८४ देखि सीमा विवादका विषयमा वार्ता भइरहेका छन् । १९९६ मा चीनले ११ औं चरणको वार्तामा भूमि साट्ने प्रस्ताव गरेको थियो । चीनको प्रस्तावपछि भुटानका तत्कालीन राजा जिग्मे सिंगे वाङचुकले भुटानको संसदलाई चीनको प्रस्तावबारे जानकारी गराएका थिए । चीनले भुटानको उत्तरी क्षेत्रको ४९५ वर्ग किलोमिटर क्षेत्र भुटानलाई दिएर भुटानको पश्चिमी क्षेत्रको २६९ वर्ग किलोमिटर क्षेत्र आफूले लिन चाहेको थियो । यो सम्झौता गर्दा भुटानले तुलनात्मक रुपमा धेरै क्षेत्र पाउँथ्यो र चीनसँगको सीमा विवाद पनि सुल्झिन्थ्यो । यो प्रस्ताव भुटानको लागि फाइदाजनक थियो तर भारतको हित हेरेर त्यतिबेला भुटानले चीनको प्रस्ताव मानेको थिएन ।

पछिल्लो समय भारतको सबै छिमेकीहरुसँग सम्बन्ध बिग्रिएको छ र भुटानसँग पनि सम्बन्ध पहिलेजस्तो छैन । अर्कोतर्फ भुटानमा अहिले राजा पनि जिग्मे सिंगेका छोरा जिग्मे केशर नामग्याल छन् । अहिलेको फरक परिस्थितिमा भुटानले भारतको हित नहेरी आफ्नो हित मात्र हेरेको खण्डमा चीनसँग यो सम्झौता हुन सक्छ । यस्तो भएमा डोकलाम चीनको हुनेछ र चीनको सेनाको पहुँच सिलिगुढी करिडोरको संवेदनशील र रणनीतिक रुपले अहम ‘चिकन नेक’सम्म पुग्नेछ जुन भारतको लागि रणनीतिक रुपले ठूलो झट्का हुनेछ ।

डीसी नेपालबाट साभार